देशको संकट र क्रान्तिको अनिवार्यता

0 133

आज देश संकटको भुमरीमा फस्न पुगेको छ । यो भयावह स्थिति सिर्जना हुनुमा कैयौं कारणहरु छ्न । परन्तु, संकटमा फस्नुको मूल कारण त ध्वंस र निर्माणको द्वन्द्ववादसँग सम्बन्धित छ । खासगरी पुरानो विनष्ट वा अन्त्यसँगै नयाँको प्रादूर्भाव हुन्छ । यसरी पुरानो विनष्ट हुँदै नयाँको उदय हुनु ऐतिहासिक नियम हो । हरेक संकटहरुको गर्भमा नयाँ सम्भावनाका आधारहरु हुर्किरहेका हुन्छन् । देशको विद्यमान संकटले त्यसतर्फ पनि इंगित गर्दछ । यसो भन्नुको तात्पर्य उत्पन्न संकटले पुरानोको विनाश मात्र होइन, अपितु नयाँ सम्भावनाहरु पनि जन्माएको छ । यसर्थमा क्रान्तिको अनिवार्यता अपरिहार्य बन्न पुगेको छ ।

यसरी पैदा भएको संकट मूलतः वर्गीय उत्पीडन, आर्थिक विषमता र वैचारिक टकराबको घनिभूत अभिव्यक्ति हो । यो ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिलेहेर्दा समाज रूपान्तरणको अनिवार्य प्रक्रियाको रुपमा अभिव्यक्त भइरहेको छ । समग्र रुपमा प्रवृत्तिगत दृष्टिले विद्यमान संकट अर्धसामन्ती तथा अर्धऔपनिवेशिक र नवऔपनिवेशिक विशेषतासहित भूमण्डलीकृत पुँजीवादी प्रत्यक्ष उपनिवेशको प्रभुत्वले जन्माएको भ्रष्टाचार, असमानता र पुरानो उत्पादन सम्बन्धको विकृति जस्ता कारणहरु नै सर्वाधिक जिम्मेवार छ्न । परन्तु, जुन स्थिति पैदा भएको छ, त्यो नयाँ र पुरानो बीचको संघर्षकै उपज हो । जब पुरानो जिर्ण हुन्छ, तब नयाँले आफ्नो अस्तित्व स्थापित गर्नका लागि पुरानोलाई विस्थापन गर्न खोज्छ, त्यस बखत पुरानो पनि सहजै छोड्न तयार हुँदैन । यसरी अनवरत प्रकृतिको संघर्ष चल्छ । संघर्ष एउटा उत्कर्षमा पुगेपछि पुरानोलाई नयाँले विस्थापन गर्दै पुरानोको स्थान ओगट्न पुग्छ । यो निरन्तर चलिरहने नियमसंगत प्रक्रिया हो । यसर्थ यो नियमसंगत पनि छ ।

कुनै पनि चीजको विकास हुन्छ, परन्तु पुनरावृत्ति हुँदैन । यसरी इतिहासको पुनरावृत्ति पनि किमार्थ हुँदैन । अर्थात इतिहास स्वयं दोहोरिदैन । क्रान्ति र प्रतिक्रान्तिको पनि ठिक उस्तै प्रकारले पुनरावृत्ति चाहिँ हुँदैन । यद्यपि कुनै प्रतिकूल स्थितिमा पुनरावृत्ति भएको भान हुन सक्छ । यसरी इतिहास दोहोरिएको भन्ने अर्थमा बुझ्नु हुँदैन । त्यसरी इतिहास दोहोरिएको बुझ्नु र दोहोर्‍याउन खोज्नु भनेको अधिभूतवाद हो । समाज विकासमा द्वन्द्वात्मक भौतिकवादको नियम लागु हुन्छ । जसअनुसार वर्गसंघर्षको परिणामस्वरूप पुरानो सामाजिक व्यवस्था विस्थापित भएर नयाँ व्यवस्था जन्मन्छ । यसप्रकारको सार्वभौम नियमका विरुद्ध आउनेहरु मूर्ख हुन्न । यसर्थ समाज विकासको सार्वभौम नियम विरुद्ध आउने मुर्ख वा रोधनहरु नष्ट पार्नको लागि निकट समयमै सुनामी अवश्य आउनेछ । तर त्यो आउन बाँकी नै छ । खासगरी त्यसप्रकारका संकटहरु सतहमा आएका छ्न । यसले सर्वहारा क्रान्तिको अनिवार्य नियमलाई निम्त्याएको छ ।

नेपाली राजनीतिमा अनेकौं प्रकारका प्रवृत्ति र विकल्पहरु प्रस्तुत भइरहेका छ्न । खासगरी नेपाली राजनीतिक वृत्तमा प्रस्तुत प्रमुख प्रवृत्ति र विकल्पहरु निम्न रुपले प्रस्तुत गर्न सकिन्छ- प्रथमतः संसदीय यथास्थितिवादी प्रवृत्ति छ । यसले यथास्थितिको निरन्तरतालाई विकल्पको रुपमा अगाडि सारिएको छ । यसमा पात्र परिवर्तनको विकल्प खोज्नुपर्छ भन्ने बहस पनि छ । यो विद्यमान राजनीतिक प्रणाली तथा सत्ताको निरन्तरतामा विश्वास गर्ने र आमूल परिवर्तन अस्वीकार गर्ने यथास्थितिवादी प्रवृत्ति हो । द्वितीय, पुनस्र्त्थानवादी प्रवृत्ति छ । यसले अतीतवादी राजनीतिक विचार, प्रवृत्ति र संरचना पुनःस्थापित गर्ने दुस्साहस गर्दै आएको छ । साथै, यसैलाई विकल्पको रुपमा प्रस्तुत गरिरहेको छ । यसले अगाडिको सम्भावना र विकासको स्थिति निषेध गर्ने कुचेष्टा गर्दछ । तृतीय, सुधारवादी राजनीतिक प्रवृत्ति छ । यसले सुधारवादी विकल्प प्रस्तुत गर्दै आएको छ । साथै, विद्यमान प्रणालीभित्रै सामान्य सुधारमार्फत अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्तछ । चतुर्थ, क्रान्तिकारी अग्रगामी प्रवृत्ति छ । यसले यथास्थितिमा क्रमभंग गरी छलाङ हन्ने प्रयत्न गरिरहेको छ । यो समग्रमा आमूल परिवर्तनको क्रान्तिकारी विकल्प हो । यसरी उपयुक्त प्रवृत्ति र विकल्पहरुमा क्रान्तिकारी प्रवृत्ति र विकल्प नै सही छ । आजको वस्तुगत यथार्थता पनि यही हो ।

देशमा विद्यमान सङ्कट पैदा हुनुमा खासगरी केही प्रमुख कारणहरू जिम्मेवार रहेका छन् । त्यसप्रकारका कारणको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । यसरी ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिले उक्त कारणहरु निक्र्योल नगरी निष्कर्षमा पुग्न सकिदैन । सबैभन्दा पहिलो कारण, देशको संकट नियमसंगत छ, किनभने यो समाज विकासको नियम प्रक्रियासँग गाँसिएको छ । इतिहासले प्रमाणित गरिसकेको छ कि पुरानो व्यवस्था भत्कँदा मात्र नयाँ व्यवस्था जन्मन्छ । यसरी वर्तमान संकटले आगामी आमूल परिवर्तनको आवश्यकता औंल्याइरहेको छ । दोस्रो, राज्यसत्तामा विराजमान शासकहरू जनताको आमूल परिवर्तनको उत्कट चाहनालाई दमन गर्दै आएका छ्न । यसरी शासकहरुले सामाजिक सत्ताका आधारभूत संरचनामा कुनै परिवर्तन नगरी व्यवस्थाका नाममात्र फेर्ने काम गरे । जसको फलस्वरूप पुरानो राज्यसत्ता र व्यवस्थाको सार यथावत् नै रहन गयो । त्यसले क्रान्तिकारी आन्दोलनलाई विसर्जन गर्‍यो । यसकारण समाजमा निराशावादी प्रवृत्ति व्याप्त छ । तेस्रो, देशको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक र नवऔपनिवेशिक विशेषतासहितको प्रत्यक्ष उपनिवेशिक अर्थसामाजिक संरचनाले गम्भीर प्रकारका संकटहरू उत्पन्न गरिरहेको छ । समाजमा शोषणको मौलिक स्वरूपलाई कायम राख्दै त्यसैलाई ‘विकल्प’का रूपमा प्रस्तुत गर्ने प्रतिगामी प्रवृत्तिले पुरानै अन्यायपूर्ण संरचनाको निरन्तरता दिने दुस्साहस गरिरहेको छ । चौथो, संसदीय दलाल पुँजीवादी पार्टीहरू र तिनका दलाल एवं अवसरवादी नेताहरूले देशलाई वैदेशिक शक्तिहरूको कठपुतली बनाइदिएका छन् । फलतः आत्मसमर्पणवादी नीतिहरूको कारण आज राष्ट्रिय स्वाधीनता प्रत्यक्ष साम्राज्य-राज्यको उपनिवेशमा फँस्न पुगेको छ । त्यसप्रकारका राष्ट्रघाती प्रवृत्तिहरूको निरन्तरताले देशलाई विघटनको संघारमा पुर्‍याएको छ । पाँचौँ, परम्परागत, अतीतमुखी र यथास्थितिवादी सोंच पनि समस्याको जड वा कारक बनेको छ । यसरी आमूल परिवर्तनका लागि स्पष्ट दृष्टिकोण, क्रान्तिकारी विचार सहितको बलियो जनएकता तथा वैज्ञानिक विश्लेषण र संश्लेषण आवश्यक छ । यस स्थितिबाट सुसज्जित वैज्ञानिक समाजवादी चेतनाले मात्र विद्यमान अन्यायपूर्ण व्यवस्थाको अन्त्य गर्दै मुक्तिको बाटो खोल्न सक्छ ।

यसरी परिस्थितिसँग वस्तुगत र आत्मगत पक्ष विद्यमान रहन्छन् । ती दुवैको अनुकूलमा क्रान्ति अगाडि बढ्छ । तर वस्तुगत र आत्मगत स्थिति स्वतस्फूर्त अनुकूल बन्दैन । त्यसको प्रतीक्षा गरेर आउँदैन । त्यसको लागि सचेत पहल आवश्यक हुन्छ । यस सन्दर्भमा निम्न कुराहरुको हेक्का राख्नुपर्छ । पहिलो, जब राष्ट्र व्यापी पुरानो राज्यसत्ता संकटग्रस्त बन्दै जान्छ । साशक वर्ग सत्ता संचालनमा असमर्थ हुन्छ । यसरी उत्पीडित जनसमुदयले पनि गम्भीर गम्भीर प्रकारको संकटको सामना गर्न नयाँ क्रान्तिकारी विकल्प खोजिरहेको हुन्छ । यसले क्रान्तिको लागि अनुकूल स्थिति सिर्जना गर्दछ । दोस्रो, पुरानो राज्यसत्ताप्रति शोषित वर्ग एवं उत्पीडित जनसमुदायमा वितृष्णा, आक्राेष र घृणाको भाव पैदा हुनुपर्छ । यसप्रकारले जनता पुरानै तरिकाले बाँच्न अस्वीकार गर्दछ । यसरी राज्य दमनको नीति अवलम्बन गर्छ ।यसरी जनता संघर्ष गर्न तयार हुन्छन् । यो क्रान्तिको लागि उपयुक्त समय मानिन्छ । तेस्रो, क्रान्ति हुनका लागि क्रान्तिकारी सिद्धान्त चाहिन्छ । यसरी अनुशासित लडाकु क्रान्तिकारी पार्टी र नेतृत्व निर्माण गर्नुपर्ने हुन्छ । चौथो, क्रान्तिका लागि निकै ठुलो तयारी गर्नुपर्ने र त्यसका लागि समय पनि लाग्छ । यसरी सबै प्रकारको परिपक्व तयारीले पुरानो शासनसत्तालाई बलपूर्वक फाल्न सकिन्छ ।

समग्र सवालहरुको सही जवाफ दिनुपर्ने देखिन्छ । त्यो प्रवचन र भाषणले हुँदैन । खासगरी दुईवटा कुरामा विशेष जाेड दिनुपर्ने हुन्छ । ती हुन्- एक, प्रधान अन्तरविरोधको पहिचान गर्नु पर्दछ । दुई, प्रधान अन्तरविरोधको हल वा समाधान गर्ने विधि खोज्नुपर्छ । यसरी नियमसंगत प्रक्रिया र विश्व व्यवस्थाले पैदा गरेका अन्तरविरोधहरु त अनेकौं छ्न । मुख्यतः भूमण्डलीकृत पुँजीवादी साम्राज्यवाद तथा उत्पीडित राष्ट्र एवं जनसमुदाय बीचको अन्तरविरोध प्रधान बनेको छ । किन्तु, अन्तर्राष्ट्रिय स्तरमा जुन प्रकारले अन्तरविरोध प्रधान बनेको छ, त्यो राष्ट्रिय रुपमा पनि प्रधान बनेर आयो । यसले आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो भन्ने वैज्ञानिक निष्कर्षलाई थप प्रमाणित पनि गर्‍यो । यसर्थ उक्त अन्तरविरोधको हल गर्नका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ ।

अत: राष्ट्रिय स्तरमा पनि उही अन्तरविरोध प्रधान बनेर आएको छ । यसको समाधानको मार्ग भनेको राष्ट्रिय मुक्ति क्रान्ति नै हो । यस स्थितिमा राष्ट्रिय मुक्ति क्रान्तिले जनवादी कार्यभार पूरा गर्दै साम्राज्यवादी उत्पीडनको अन्त्य गर्नेछ र समाजवादको दिशामा फड्को मार्नेछ । यसप्रकारको समाज रूपान्तरणको नियमसंगत प्रक्रियालाई रोक्न सकिँदैन । जसरी पुराना पातहरू झर्छन् र नयाँ मुना उम्रन्छन् । त्यसरी नै पुरानो शोषणमूलक व्यवस्था ढल्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्था जन्मनेछ । यसर्थ क्रान्ति इतिहासको अपरिहार्य नियम हो । यो समग्र वास्तुस्थितिहेर्दा अब राष्ट्रिय मुक्ति क्रान्तिको दिशामा अगाडि बढ्नुको विकल्प छैन ।

सम्बन्धित
Loading...