‘बा फर बाकस’
हामीलाई लाग्थ्यो
मुगलानमा पैसाको बोट हुन्छ !
हिंड्दा हिंड्दैं बाटोमा सुन भेटिन्छ !!
बा छुट्टीमा आउँदा,
उनको बाकस अक्सर आधा हुँदा
हामीले नमज्जा मान्थ्यौं !
हामी जान्दैन्थ्यौं-
बाको बाकस हजार ठाउँमा
चुहिंदै आएको हुन्छ बाटोभरी…
अलिकती साहुको खातामा
अलिकती आफन्तको हातमा !
अलिकती सपनाको सहरमा
अनि
अलिकती सरकारको घरमा !!
कानेखुसी गर्थ्यौं-
कहाँ लुकाए बाले पैसा ?
कता दबाए सुन ?
किन ल्याएनन खेलौना बाले ?
किन ल्याएनन मीठाइ ?
किन प्रत्येकपल्ट
आधा बाकस लिएर आउँछन यी ??
हामी भन्न मात्र सक्दैनथ्यौं-
यस्ता बा त बरु नआएकै जाती !!
नआए हुन्थ्यो भनेका बा
हिंजो फेरि आए !
बाकस पनि भरिएरै आयो !
फरक यत्ति हो-
यसपाली बा
बाकस भित्र आए !!
हामी केटाकेटीलाई के थाहा हुन्छ र
कुन बाकस भित्र के राखिन्छ भन्ने !
हामीलाई त यत्ति थाहा हुन्छ
बाकस भित्र खेलौना र मीठाइ मात्र राखिन्छन !!
अब थाहा लाग्यो-
रहस्यका पोकाहरु लुकाई
आश्चर्यका पोकाहरु फुकाउने
दु:खका झिटीझाम्टी पिंधमा राखी
सुखका मीठाइहरु सिरानमा देखाउने
‘सकस’ को ‘स’ लाई
छाती भित्र बन्द गरेर
अग्रमोर्चामा आफू बसे पछि
बाहरु ‘बाकस’ बन्दा रहेछन !
‘पेन्डोराको बाकस’ झैं
प्रायः बन्द हुँदा रहेछन बाहरु !
जब खुल्छन… सकिंदा रहेछन !!
✍️ हेमन्त गिरी, जापान