बहस: कार्यदिशाको, विरोध र समर्थन
आजको महान बहसले इतिहासमै विशेष अर्थ राख्नेछ । विशेषत: कम्युनिस्ट आन्दोलनको सन्दर्भमा अझै दूरगामी महत्त्वको स्थान ओगट्ने छ । किन्तु बहस सकारात्मक वा नकारात्मक जुनसुकै कोणबाट उठे पनि त्यसले सत्यको अन्वेषण गर्न मद्दत नै पुग्नेछ । यसरी हामीले बहसको बैठानलाई सकारात्मक संश्लेषण र निष्कर्षमा पुर्याउने प्रयत्न गर्नुपर्ने हुन्छ । यतिबेला कम्युनिस्ट आन्दोलन दिशाविहीन स्थितिमा छ । यसको सही दिशा निर्धारण गर्न प्रस्तुत हुने अवधारणा, विचार र दृष्टिकोणहरू बीचको संवाद, टकराव र घर्षणले बहसको महत्त्वलाई उजागर गर्छ र ज्ञानको प्रगतिमा योगदान पुर्याउँछ । साथै नयाँ चीजको जन्म पनि दिन्छ । यो महान बहसको महत्वलाई यसरी पुष्टि गर्न सकिन्छ । यसका अतिरिक्त कम्युनिस्ट आन्दोलनलाई सुस्पष्ट दिशा निर्दिष्ट गर्न कोशेढुङ्गा नै सावित हुनेछ ।
“महान बहस” भन्नाले मुलतः दुई वा दुईभन्दा बढी परिप्रेक्ष्यहरू, सिद्धान्तहरू, विचारधाराहरु वा दृष्टिकोणहरूको बीचमा हुने गहन छलफल वा संवादलाई बुझ्नुपर्छ । यसप्रकारका बहसहरूमा सहभागी पक्षहरूले आफ्ना सिद्धान्तहरू, प्रमाणहरू र दृष्टिकोणहरु प्रस्तुत गरेर एकअर्कालाई चुनौती दिन्छन् । साथै एकाअर्काका तर्कहरु काट्ने गर्छन । मूलभूत कुरा त तथ्यद्वारा निष्कर्ष वा सत्यमा पुग्ने कुरा हो । यसको दृष्टान्तका लागि प्रथमतः सन् १९२० मा “महान बहस” भनेर खगोलशास्त्रको बहसलाई संश्लेषण गरिएको थियो । जसमा खगोलशास्त्रीहरूले जगतको आकार र स्वरूपबारे बहस गरेका थिए । त्यस सन्दर्भमा तर्कहरु जेसुकै प्रस्तुत गरिए पनि तथ्यद्वारा सत्यमा पुगियोको थियो । द्वितीय, सन् १९५० तिर रसियन कम्युनिस्ट पार्टी र चीनको कम्युनिस्ट पार्टीबीच “महान बहस” चल्यो । त्यो बहस सन् १९५० को दशकको अन्त्यदेखि १९६० को दशकसम्म चलेको थियो । वस्तुतः बहस दुई देशका कम्युनिस्ट पार्टीहरूबीचको वैचारिक र राजनीतिक असहमतिका गम्भीर विषवस्तुहरुमा केन्द्रित रह्यो । त्यो बहस ख्रुश्चेवको आधुनिक संशोधनवादका विरुद्धको संघर्षको रूपमा संश्लेषण गरिएको थियो । तृतीय, आज जगतमा सैद्धान्तिक, वैचारिक र आर्थिक संकट एवं चुनौतीहरु उत्पन्न हुँदै आएका छ्न । त्यसको समाधान गर्नका लागि महान बहसको जरुरी हुन्छ । विश्व समाज र कम्युनिस्ट आन्दोलनमा विद्यमान संकटको समाधान गर्न महान बहसको प्रक्रियाद्वारा नै नयाँ संश्लेषण गर्न सकिन्छ र यो आवश्यक छ ।
राष्ट्रिय मुक्ति क्रान्ति भन्नाले कुनै राष्ट्र वा देशको स्वाधीनता र स्वतन्त्रताको आन्दोलनसँग सम्बन्धित क्रान्ति हो । यो वर्गीय क्रान्तिकै एउटा अभिन्न अंग पनि हो । यसरी कुनै देश वा राष्ट्रले विदेशी शासन तथा आन्तरिक वा बाह्य उपनिवेशिक नियन्त्रण या अत्याचारी सत्ता विरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ । यो आफ्नो स्वतन्त्रता, सम्मानता र अधिकारका लागि गरिने क्रान्ति हो । यस प्रकारका क्रान्तिहरु मुलुकको स्वतन्त्रता, नागरिक अधिकार तथा जनवादी र समाजवादी शासन प्रणालीको स्थापनाका लागि गरिन्छन । राष्ट्रिय मुक्ति क्रान्ति केवल राजनीतिक स्वतन्त्रताको लागि मात्र नभई सामाजिक र आर्थिक स्वतन्त्रताको लागि गरिने संघर्ष पनि हो । यसर्थ राष्ट्रिय मुक्ति क्रान्ति कुनै पात्र विशेषको आवेग, उत्तेजना वा मनोगत चाहनाले हुने होइन, अपितु यो वस्तुगत र ऐतिहासिक आवश्यकताको माग अनुरुप हुन्छ ।
कार्यदिशाको बहस भ्रम र यथार्थ
कुनै पनि सन्दर्भमा बहस हुनु राम्रो कुरा हो । किन्तु बहसलाई दिशान्तर गर्नु भने राम्रो पक्ष होइन । आजको समाजमा गम्भीर समस्या नै बहसलाई निषेध गर्ने प्रवृत्ति सर्वत्र छ । त्यसरी विषयवस्तुको सतही, छिपछिपे र बोक्रे बुझाइको आधारमा धारणा बनाउने गरिन्छ । फलतः त्यसले गहिराईसम्म पुग्न सकिदैन । यो सही होइन । यसर्थ हामीले समग्र कार्यदिशा सम्बन्धी भ्रम र यथार्थको प्रश्नलाई एकातिर सैद्धान्तिक र अर्कोतिर व्यवहारिक दुबै दृष्टिले पुष्टि गर्न गर्न सक्नुपर्छ ।
पहिलो, हाम्रो कार्यदिशालाई राजनीतिक कार्यदिशा नै होइन भनेर दुष्प्रचार गरिदैछ । यो प्रतिक्रियावादीहरुको भ्रम हो । यसरी इतिहासमा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा नै छैन भन्नु झुट मात्र होइन, बरु इतिहासमाथिकै राजनीतिक बेइमानी हो । त्यो त विश्वकम्युनिस्ट आन्दोलनको इतिहासबारे गहिरो ज्ञान-चेतना नभएकाहरुले गर्ने लफ्फाजी र बकवास मात्र हो । बरु सत्य कुरा क्रान्तिकारी आन्दोलनको इतिहासमा तीनवटा कार्यदिशाहरु प्रयोग हुँदै आएका छ्न । ती हुन्- प्रथमतः समाजवादी क्रान्तिको विचारधारात्मक राजनीतिक कार्यदिशा र सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा छ । त्यो रसियन क्रान्तिको प्रक्रियामा विकास गरियो । यो रसियन क्रान्तिको मोडेल हो । द्वितीय, नयाँ जनवादी क्रान्तिको विचारधारात्मक राजनीतिक कार्यदिशा र दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशाको संश्लेषण गरिएको छ । यो चीनियाँ क्रान्तिको मोडेल हो । तेस्रो, सशस्त्र छापामार संघर्षको सामरिक कार्यदिशाको जगमा विकसित राष्ट्रिय मुक्ति क्रान्तिको राजनीतिक कार्यदिशा संश्लेषण गरिएको छ । यस मोडेलको प्रयोग दुनियाँमा भयो । यो क्रान्तिको सार्वभौम मोडेल हो । परन्तु यसको संश्लेषण हामीले गरेका छौं । यसको सही संश्लेषण र प्रयोग गर्ने श्रेय इतिहासले हामीलाई प्रदान गर्यो र हामीले क्रान्ति तेस्रो मोडेलको रुपमा विकास गर्यौं । यसको वैज्ञानिकता व्यवहारिक प्रयोगद्वारा पुष्टि गरिनेछ ।
दोस्रो, राष्ट्रिय मुक्ति क्रान्तिको नारा त राजेन्द्र महतोले उठाएका छ्न भन्ने भ्रम छ । उहाँले उठाउनु भएको कुरा सत्य हो । तर उहाँको राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न साम्राज्यवादीहरुको नारा हो । त्यसप्रकारको तर्क गर्दा समाजवादको नारा त हिटलरले पनि उठाएका थिए । के समाजवादको नारा बोक्नेहरु हिटलरवादी हुन् भन्न सकिन्छ ? अँह ! त्यो भन्न सकिदैन । यसर्थ हाम्रो कार्यदिशालाई राजेन्द्र महतोको नारासँग तुलना गर्नै पनि मिल्दैन । किनकि कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न नयाँ जनवादी कार्यभारसहित समाजवादी गणतन्त्रमा पुग्ने उद्देश्यसित सम्बन्धित हुन्छ । किन्तु यसलाई राजेन्द्र महतोसँग जाेडेर गाेएबल्स प्रचार गर्ने दुस्साहस गर्नु हुँदैन । यो इतिहासमाथि कै अन्याय हुन्छ । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको सन्दर्भमा लेनिनले भन्नुभएको छ- “साम्राज्यवादी विचारकहरु प्रायः राष्ट्रिय मुक्तिबारे गन्थन गर्दछ्न, … तर आर्थिक स्वाधीनताको प्रश्न एकातिर थन्क्याइदिन्छ्न । वास्तवमा चाहिँ यही कुरा मुख्य हो ।” (लेनिन संकलित रचना संग्रह, खण्ड २२, पृ. १८७) । उक्त उद्धरले प्रष्ट गर्छ कि कुनै पनि साम्राज्यवादी वा विस्तारवादीहरुले उठाउने राष्ट्रिय मुक्तिको प्रश्नको सार यही हो । उनीहरूले राष्ट्रिय मुक्तिको गन्थन गर्छन् वा मुद्दा उठाउने गर्छन् । तर आर्थिक स्वाधीनता र वर्गीय मुक्तिको प्रश्नलाई किनारा लगाउने गर्छन् । यो नै हाम्रो र साम्राज्यवादीहरुले उठाउने राष्ट्रिय मुक्ति क्रान्ति बीचको अन्तर छुट्याउने सही र अकाट्य संश्लेषण हो ।
तेस्रो, आजसम्म विश्वस्तरमा सम्पन्न तथा संचालनको अवस्थामा रहेका क्रान्तिहरु सशस्त्र छापामार संघर्षको जगमा राष्ट्रिय मुक्ति क्रान्ति नै हुन् । विशेषत: चाइना, भियतनाम, क्युवा, उत्तरकोरिया र युरोपमा सम्पन्न क्रान्तिको मोडेल पनि सशस्त्र छापामार संघर्ष जगमा विकास गरिएको राष्ट्रिय मुक्ति क्रान्तिकै मोडेल थिए । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशाको अपव्याख्या गर्नु भनेको भौतिकवादी ज्ञान-चेतना नभएकाहरुको बकवास मात्र हो । हाम्रो कार्यदिशाको विरोध र समर्थन दुवै हुनेछ । तर सत्यको खोज गर्नु बुद्धिमानी हुन्छ । हामीले तथ्यद्वारा प्रमाणित गरिसकेको स्थिति छ कि हाम्रो कार्यदिशा सही र वैज्ञानिक छ । हाम्रो कार्यदिशा सही छ भन्ने कुरा फेरि व्यवहारत: पुष्टि गर्नेछौं ।
चौथो, हामीले नेपाली समाजका विशेषता, प्रधान अन्तरविरोधहरु, भयावह आर्थिक संकटहरु र सामाजिक विघटनको स्थितिलाई द्वन्द्वात्मक भौतिकवादी आँखाद्वारा अध्ययन गर्यौं । आज मुलुक अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा मात्र रहेन । परन्तु त्यसका अवशेषसहित प्रत्यक्ष औनिवेशिक साम्राज्य राज्य विस्तारको स्थितिमा पुग्यो । साथै समाजको समग्र ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक विशेषताहरुको विश्लेषण गर्दै नेपाली क्रान्तिको स्वरुप राष्ट्रिय मुक्ति क्रान्तिको राजनीतिक कार्यदिशा र सशस्त्र छापामार संघर्षको फौजी कार्यदिशाको रुपमा संश्लेषण गर्यौं । यसरी सशस्त्र छापामार बलद्वारा राज्यसत्ता कब्जा गर्नु हाम्रो राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रीय प्रश्न हो । यसर्थ सशस्त्र क्रान्ति आमूल परिवर्तन तथा वर्गीय एवं राष्ट्रिय मुक्ति क्रान्तिको सार्वभौम नियम हो । यो क्रान्ति मूलभूत उद्देश्य र नियमसंग सम्बन्धित छ । यसप्रकारका महान उद्देश्य र नियमहरुको व्यवहारिक कार्यान्वयन वस्तुस्थितिको सापेक्षता, मौलिकता र विशिष्टतामा गरिन्छ ।
पाँचौ, मुक्ति क्रान्तिको यथार्थ र बजारमा फिजाइएको भ्रमबारे बलियो तर्क प्रहार गर्न जरुरी छ । त्यो प्रश्न भनेको राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न हो । यो बहसमा आउनु सही छ । किनकि यस बहसले सही र गलत छुट्याउने छ । हाम्रो राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न अन्धराष्ट्रवादी र साम्राज्यवादीहरुले उठाएको जस्तो नारा होइन । हाम्रो कार्यदिशा गुणात्मक रुपैया नै भिन्न छ । त्यसको सुस्पष्ट व्याख्या गरिसकेका छौं । यद्यपि यसको यथार्थ र भ्रम जनता समक्ष पुर्याउन जरुरी छ । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको उद्देश्य भनेको मानिसद्वारा मानिसमाथि हुने शोषणमूलक प्रणालीलाई संसारबाट नामेट पार्नु, सर्वहार वर्ग एवं उत्पीडित समुदायलाई सबैप्रकारका वैदेशिक उत्पीडन र शोषणबाट मुक्त गर्नु, नयाँ जनवादी कार्यभारसहित समाजवाद हुँदै साम्यवादमा पुग्ने सर्वहारा वर्गको ऐतिहासिक कार्यभार हो । यो कार्यभार पूरा गर्न हामीले अत्यन्तै डरलाग्दो र कुरुप दुश्मनलाई पराजित गर्नुपर्ने हुन्छ । उक्त कार्यभार राष्ट्रिय मुक्ति क्रान्तिले पुरा गर्नेछ । यो नै आजको यथार्थ हो ।
कार्यदिशा निरुपणको प्रश्न
वस्तुतः कार्यदिशा सम्बन्धी बहसमा विरोध र समर्थन दुबै हुन्छ । खासगरी विरोध अस्पष्टता र वर्ग अन्तरविरोधको स्थितिबाट हुने गर्दछ । यहाँ हाम्रो कार्यदिशाको सन्दर्भमा पनि यही विरोध र समर्थनको नियम लागू भइरहेको छ । यसरी समर्थन र विरोधको द्वन्द्ववादी प्रक्रियाले कार्यदिशाको वैज्ञानिकता पनि पुष्टि गर्छ । हाम्रो कार्यदिशाको पक्षमा सर्वहारा वर्ग, उत्पीडित राष्ट्र एवं समुदायको समर्थन प्राप्त हुँदै जानेछ । यसको रक्षा क्रान्तिकारीहरुद्वारा मात्र सम्भव हुन्छ । यसर्थ क्रान्तिकारीहरुले क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासमा विशेष ध्यान दिनु जरुरी छ ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न निकै जटिल प्रश्न हो । प्रथमतः यसको लागि सैद्धान्तिक र व्यवहारिक रुपमा प्रष्टता चाहिन्छ । कम्युनिस्ट आन्दोलन नुन खाएको कुखुरा जस्तो झोक्राएको स्थितिमा अगाडि बढ्न सक्दैन । यसर्थ सैद्धान्तिक, वैचारिक र व्यवहारिक सन्दर्भमा प्रष्ट हुनुपर्ने हुन्छ । द्वितीय, नेपाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा कार्यदिशा निरुपणको प्रश्न निकै महत्वपूर्ण प्रश्न हो । यो नेपालको वस्तुगत परिस्थितिलाई ठिक ढंगले संश्लेषण गर्ने हो भने कार्यदिशाको निरुपण गर्न सकिन्छ । त्यही अनुरुप कार्यदिशा सम्बन्धी बहसद्वारा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा संश्लेषण गरिएको छ । यतिबेला यथास्थितिको निरन्तरता तथा अकर्मण्यतामा फसेको नेपाली कम्युनिस्ट आन्दोलनमा क्रमभंग गर्दै क्रान्तिको सुस्पष्ट बाटो निर्माण गरिएको छ । तृतीय, सशस्त्र छापामार संघर्षको जगमा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशालाई प्रयोगमा लिने प्रश्न छ । यो अझै चुनौतीपूर्ण छ । किन्तु नेपाली समाजको आन्तरिक तथा बाह्य उत्पीडन एवं साम्राज्य राज्यको अत्यन्त गरी नयाँ सामाजिक सत्ता र व्यवस्था स्थापना गर्नको लागि उक्त कार्यदिशा प्रयोग गर्न अनिवार्य छ । यसको प्रयोगद्वारा मात्र देश र जनताको मुक्ति सुनिश्चित हुन्छ ।
मुलतः अहिलेसम्मको इतिहासलाई हेर्दा विश्व कम्युनिस्ट आन्दोलनमा तीनवटा कार्यदिशा प्रयोगमा आएको देखिन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा पनि कार्यदिशा सम्बन्धी बहसमा तीनवटा कार्यदिशाहरु प्रस्तुति भएका छ्न । पहिलो, नयाँ जनवादी क्रान्तिको कार्यदिशा छ । यससँग सामरिक कार्यदिशा छैन । मुलतः विचाराधारात्म राजनीतिक कार्यदिशासँग सामरिक कार्यदिशा संयोजन गरिएन भने राजनीतिक कार्यदिशा अपूर्ण नै हुन्छ र प्रयोगसिद्ध पनि हुन सक्दैन । यसरी जनवादी क्रान्तिको कार्यदिशा शास्त्रीय छ । दोस्रो, समाजवादी क्रान्तिको कार्यदिशा प्रस्तुत गरिएको छ । त्यो सँग पनि सामरिक कार्यदिशा छैन । त्यो काल्पनिक छ । किनकि वस्तुस्थितिलाई छाेडेर मानसिक उडानमा प्रस्तुत गरिएको छ । यसले ठिक ठाँउमा पुर्याउँदैन । तेस्रो, सशस्त्र छापामार संघर्षको जगमा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा संश्लेषण गरिएको छ । यो सही र वैज्ञानिक छ । यो वस्तुगत र आत्मगत स्थितिको उपज हो । यस राष्ट्रिय मुक्ति क्रान्तिले प्रथमतः नयाँ जनवादी कार्यभार पुरा गर्छ । द्वितीय, वैदेशिक उत्पीडनको अन्त्य गर्छ । तृतीय, नयाँ जनवादी कार्यभारसहित स्वाधीन तथा समाजवादी गणतन्त्र स्थापना गर्दै क्रान्तिको निरन्तरतामा अगाडि बढ्ने कुरा नै हाम्रो कार्यदिशाको सार हो ।
।
निष्कर्ष,
अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने विषय नै मुख्य प्रश्न हो । कुनै पनि क्रान्तिको कार्यदिशा बनिबनाउ हुँदैन । कम्युनिस्टहरुले त्यसप्रकारको कार्यदिशा खोज्नु पनि हुँदैन । परन्तु, आजको स्थितिमा कार्यदिशा भन्नाले परिवर्तनको लक्ष्य प्राप्त गर्नको लागि अपनाइने कार्यक्रम, नीति, र मार्गदर्शनको समष्टि हो । यस अनुरुप नै हामीले नेपाली क्रान्तिको राजनीतिक र सामरिक कार्यदिशा निर्धारण गरेका छौं । यसरी सामरिक कार्यदिशा विनाको विचारधारात्मक राजनीतिक कार्यदिशा अपूर्ण हुन्छ । यस स्थितिमा सामरिक कार्यदिशाको जगमा राजनीतिक कार्यदिशाको विकास गरिएको छ । आजको सही कार्यदिशा भनेकै राष्ट्रिय मुक्ति क्रान्ति नै हुन्छ । यो नयाँ जनवादी कार्यभार पूरा गरी वैदेशिक उत्पीडनको अन्त्य गर्ने अचुक अस्त्र पनि हो ।