मुक्ति युद्ध- कविता
• प्रभात
बलिदानले रक्तरन्जित धर्तीमा
हाम्रो नयनमा ज्वाला सल्किन्छ ।
स्वाधीनताको हाँक सँगसँगै,
सुन्दर भविष्यको आशा पलाउँछ ।
यो मुक्ति युद्ध लड्ने युग हो,
महान सपनाहरु सुनिश्चित हुन्छन् ।
मुक्ति वा बलिदान संकल्प गर्ने,
यो अन्तिम संग्राम बेला हो ।
को आउँछ हाम्रो विरुद्धमा?
हेरौं त उसको तागत कति छ?
यहाँ दुश्मन किटान गरिएको छ ।
किटान छ जाे लड्न आउँदैछ,
मुक्ति अस्त्रद्वारा नामेट गरिन्छ ।
कागजी बाघ सावित गर्दै,
मुक्ति र विजयको संकल्पमा
नयाँ युगको शंखघोष गरिनेछ ।
आऊ, जुटौं मुक्ति संग्राममा
स्वाधीनताका फूल फुलाऔं,
मुटुमा प्रतिरोधको ज्वाला बल्छ
आफ्नो हकको लागि लडौं,
टिक्न सक्दैन, त्यो बर्बर शासन
हाम्रो एकता र तागतको सामू
आऊ सँगै लड्नुछ मुक्ति युद्ध
मुक्ति क्रान्तिको हतियार समाऊ ।
उठ ! ए नौजवान योद्धाहरू,
किसान-मजदुर, गरिबहरू जाग !
उत्पीडित राष्ट्र एवं जनताहरु ,
मुक्ति र बलिदानको संकल्प गरौं,
अब यो संसार हाम्रो हुनेछ ।
समय पर्खेर बस्दैन बुझ,
यो साम्राज्य विरुद्ध लड्ने बेला
अनि सर्वहारा क्रान्तिको युग हो ।
रक्तिम गगनको गर्जनमा,
हाम्रो आवाज गुञ्जिन्छ यहाँ ।
जहाँ सुन्दर सपना ब्यूँझिदै छ्न,
क्रान्ति र मुक्तिका सन्देश छन् ।
त्यो आँधीबेहरी आउँदै छ,
त्यो ज्वालामुखी फुट्ने छ ।
सत्ताका पर्खालहरु भत्काउँदै,
मुक्तिको सूर्योदय निश्चित छ ।