दशैं: मिथक र यथार्थको प्रश्न

0 128
क. सङ्कुल

विषय प्रवेश
आज सवाल दशैंको छ, र दशैं एउटा गहन बहसको केन्द्रमा छ । यसलाई ऐतिहासिक तथा वैचारिक दृष्टिले बुझ्न र विश्लेषण गर्न, मिथक र यथार्थ पक्षहरू स्पष्ट गर्नुपर्ने हुन्छ । मुलतः दशैंसँग सम्बन्धित बहसलाई ऐतिहासिक र वैचारिक रूपमा गहन निष्कर्षमा पुर्‍याउन तथ्यपरक खोज जरुरी छ । जसरी समाज विकासको प्रक्रियामा पुरानो हट्छ र नयाँले स्थान ओगट्न पुग्छ, त्यसरी नै पुराना संस्कृतिहरुको ठाउँमा नयाँ संस्कृतिले स्थान लिन्छ । यो नियमसंगत छ र हरेक पुरानोबाट नयाँमा रुपान्तरण हुन्छ । किन्तु दशैं भने २१औं शताब्दीसम्म आइपुग्दा पनि उही पुरानोकै निरन्तरतामा छ । यस पुरानो संस्कृतिको निरन्तरताले समाजलाई यथास्थितिमा राख्छ । यसले सामाजिक चेतलाई अधम बनाउँछ । नयाँ विकासको प्रक्रियामा पनि गत्यवरोध गर्छ । यसर्थ सबै कोणबाट सांस्कृतिक रुपान्तरण अपरिहार्य बन्न गएको छ ।

सामाजिक रूपान्तरणको लागि सांस्कृतिक रूपान्तरण समयसापेक्ष आवश्यकताको विषय हो । यसरी सामाजिक तथा सांस्कृतिक रुपान्तरण एकाअर्कासित अन्तरसम्बन्धित छ्न । किन्तु दशैंलाई शासकहरुले आफ्नो अभिष्ट पूरा गर्न हिन्दु धर्मसँग जाेडेर व्याख्या गरेका छन । र सांस्कृतिक रुपान्तरणको प्रक्रियालाई नै निरपेक्ष बनाउने कुचेष्टा पनि गर्दै आएका छ्न । त्यो नियम विरुद्ध छ । यसरी हरेक सापेक्ष हुन्छ ।   सांस्कृतिक रुपान्तरण पनि समय सापेक्ष हुन्छ । यस लेखमा पुरानो संस्कृतिको रुपान्तरण गरिनुपर्छ भन्ने कुरा संक्षेपमा चर्चा गर्न खोजिएको छ । यहाँ एउटा मात्र संस्कृति छैन । बरु अनेकौं संस्कृतिहरु छ्न । यो क्षेत्र निकै विशाल छ । यो सानो लेखमा व्यापक र वृहत् विषयलाई विस्तृत गर्न भने सम्भव छैन । परन्तु यसमा आदतको संस्कृति तथा शक्तिको पहिचान गरी त्यसका विरुद्धको वैचारिक संघर्षलाई घनिभूत बनाउने प्रयत्न गरिएको छ ।

दशैंको ऐतिहासिक पृष्ठभूमि
दशैं सम्बन्धी अनेकौं र विभिन्न विश्लेषणहरु छ्न । मुलतः
दशैंको ऐतिहासिक जरा खोज्दा, यो कृषि संस्कृति र श्रमिक समुदायको पर्वको रूपमा शुरू भएको देखिन्छ ।यसैलाई आधार मानेर एउटा बाली भित्र्याएको र अर्को नयाँ बाली लगाउने प्रक्रियामा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न तथा त्यसको सफलताबाट खुसी साटासाट गर्न र मनोरञ्जन लिने उद्देश्यले नै दशैं मनाउन सुरु भयो र  एउटा उत्सवको रुपमा दशैं मनाउन थालियो । किन्तु शासकहरुद्वारा मिथक कथाहरु रचिए । शासक वर्गले धार्मिक मिथकद्वारा दशैंलाई शक्ति र प्रभुत्व कायम राख्ने माध्यम बनाएको देखिन्छ । यसरी ऐतिहासिक तथ्यमा टेकेर यसको गहन अन्वेषण गरेको खण्डमा नयाँ निष्कर्षमा पुग्न सकिन्थ्यो र सकिन्छ । खासगरी समाज यतातर्फ लागेन बरु शासकहरुको षड्यन्त्र र भ्रममा फस्यो ।

यसरी दशैं सम्बन्धी किम्बदन्तीहरु त अनेकौं हुन सक्छन् । तर, मुख्य अनुमानित र आदर्शवादी कथनहरु निम्न अनुसार रहेका छ्न- पहिलो, पौराणिक कथमा देवराज इन्द्र र राक्षसराज महिषासुर बीचको युद्धमा देवताहरुको हार भएपछि महिषासुरलाई जित्न नसक्ने बुझेका देवताहरुले अत्यन्त सुन्दर स्त्रीको प्रयोगद्वारा युवतीप्रति मोहित महिषासुरलाई षड्यन्त्रपूर्वक हत्या गर्न सफल भएका थिए । त्यसैको उत्सवमा देवीको पूजाको लागि बली दिने र टीका लगाएर दशैं मनाउने गरेको भन्ने कथन छ । दोस्रो, पौराणिक कथा अनुसार अयोध्याका राजकुमार रामचन्द्रकी पत्नी सीतालाई लङ्काको राजा रावणले हरेर लगेपछि सीतालाई फर्काउन रामचन्द्रले आध्यात्मिक शास्त्र अनुरुप नवौं दिनसम्म पूजा आराधना गरी दशौं दिनका दिन टीका लगाएर विजयका लागि लडाइँको मैदानमा प्रस्थान गरेका थिए । त्यस स्थितिमा रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेको हुनाले दशैं मनाउने गरिएको भन्ने कथन छ ।

नेपाली समाजमा दशैंसँग जोडिएका अन्य पर्वहरू छ्न । साथै यहाँ तिहार लगायत अन्य राष्ट्रिय तथा  क्षेत्रीय संस्कृतिहरू पनि छ्न । ती सबै पुरानो सत्ता र शक्तिकै प्रभुत्वका उपज हुन । त्यसले समाजमा वर्गीय विभाजन र विभेदलाई अझै गहिरो बनाएको छ । जसले विविधता र संघर्षको स्थितिलाई पेचिलो बनाउदै लगेको छ । एउटा वर्गले धार्मिक अस्त्रद्वारा समाजका निम्न वर्गका मानिसहरुलाई आर्थिक भार र मारमा पार्दै गरिबीको चक्रमा फसाए छ । एकातिर शासक वर्गले यो सांस्कृतिक पर्वको रुपमा आफ्नो प्रभुत्व प्रदर्शन गर्छ भने, अर्कोतिर श्रमिक वर्ग ऋणको बोझले थिचिन्छ । यसरी मासु, मदिरा र अन्य खर्च गर्ने संस्कारले श्रमजीवी वर्गलाई अतिरिक्त बोझ पुर्‍याउँछ । यसप्रकारले विपन्न वर्गका लागि दशैं उत्सव होइन, अपितु अभिषाप नै हो ।

दशैंको सन्दर्भमा विशेष गरी राज्य र राजसत्तासँग सम्बन्धित मिथक र काल्पनिक विषयवस्तुहरु जबर्जस्त रूपमा समाजमा लाद्ने गरेको देखिन्छ । यसरी पहिलो, काल्पनिक कथन अनुसार रावणमाथि रामचन्द्रको विजय । दोस्रो, काल्पनिक कथाको विषयवस्तु अनुरुप पराजित मानसिकताले ग्रसित कथित देवता भनिएकाहरुद्वारा सुन्दर स्त्रीको प्रयोग गरी महिषासुरको बध । तेस्रो, असत्यमाथि सत्यको विजय । उक्त कथाहरू वास्तवमा राज्यको शक्तिको पुन:संरचना र तिनलाई वैधता दिने प्रयास हुन । यी कथाहरू शासक वर्गको प्रभुत्वलाई बलियो बनाउने र उत्पीडित वर्गलाई आफ्नो स्थिति स्वीकार गर्न बाध्य पार्ने सांस्कृतिक रणनीति अन्तर्गत पर्दछ्न । यस प्रकारका इतिहासका भ्रमपूर्ण र काल्पनिक कथाहरुमा यथार्थता हराएको छ । यसस्थितिले नै दशैंको मिथकता र यथार्थता प्रष्ट गर्दछ । विशेषगरी रामले रावणलाई मारेको र दुर्गाले महिसासुरलाई मारेको भन्ने काल्पनिक  कथा हुन । त्यसको सत्यता इतिहास, समाजशास्त्र, मानवशासत्र र विज्ञानले कतै पुष्टि गरेको छैन । यस्तो अन्धतापूर्ण  मानसिक चित्रण समाजको रुपान्तरण र चेतनाको विकासमा बाधा पुर्‍याएको हुन्छ । प्रगतिशील  दृष्टिकोणमा यो केवल व्यक्तिको समस्या नभएर एउटा प्रणालीगत समस्या हो । जसले सामाजिक र राजनीतिक शोषणलाई निरन्तरता दिन्छ ।

मिथक र यथार्थको संघर्ष
दशैंको सामाजिक यथार्थ भनेको सामाजिक संरचनामा विभेद तथा विग्रह ल्याउनु हो । त्यसले पुरातन विचार, चिन्तन र संस्कृति हावी गरेको छ । त्यसप्रकारका प्रवृत्तिहरु परिवर्तनका बाधक हुन्छन् । त्यस्ता प्रवृत्तिहरुलाई निषेध गर्नुपर्छ । मुलतः जनताको सचेत र बलप्रयोगको मान्यता अनुरुप नै पुरानोको अन्त्य गर्न सकिन्छ । किन्तु सामाजिक सत्ता र व्यवस्थालाई  बलपूर्वक हटाउन सकिन्छ भन्ने मान्यता छ । त्यसरी आदतको शक्ति विरुद्ध पनि सचेत तत्वको भूमिका प्रधान नै हुन्छ । त्यसले मात्र पुरानोको निषेध गर्न सकिन्छ । यसरी वर्गसंघर्षको प्रक्रियाद्वारा मात्र रुपान्तरण सम्भव हुन्छ ।

समाजमा दशैं लगायत अन्य संस्कृतिहरु सम्बन्धी अनेकौं मनोविज्ञानहरु छन । मुलतः दशैं सम्बन्धी निर्माण भएका सामाजिक मनाेविज्ञानहरु निम्नानुसार प्रस्तुत गर्न सकिन्छ- पहिलो, रुढीवादी  मनोविज्ञान । दोस्रो, निराशावादी मनोविज्ञान । तेस्रो, बहिष्कारवादी मनोविज्ञान । चौथो, प्रगतिशील मनोविज्ञान । समाज विभिन्न मनोविज्ञानमा विभाजित छ । दशैंप्रति मात्र होइन, अपितु समग्र पुरानो एकल संस्कृतिप्रति सबै नागरिकको बुझाइमा एकरुपता छैन । किनभने दशैं एउटा वर्गको उत्सव हो । यसले उच्च वर्गलाई उत्साहित बनाउछ भने विपन्न वर्गलाई निरुत्साहित बनाउछ । यो नै विद्यमान समाजको यथार्थ हो ।

दशैंले समाजमा यथास्थितिवादी चेतना रोपेर सामाजिक रुपान्तरणको मार्ग अवरुद्ध गरेको छ । साथै श्रमजीवी वर्गलाई दशैंको ऋण र उपभोग संस्कारले गरिबीको चक्रमा थिच्दै लगेको छ । यसले किसान, मजदुर र गरिब वर्गलाई आर्थिक भारमा पार्छ । दशैंका लागि लिइएका ऋणहरू, मासु तथा मदिराको खरिद र सामूहिक संस्कारहरूमा खर्च गर्ने प्रचलनले समाजका उत्पीडित वर्गहरूलाई अझै आर्थिक र सामाजिक बोझमा राख्छ । शासक वर्ग र सम्पन्न परिवारहरूले यो अवसरमा आफ्नो प्रभुत्व प्रदर्शन गर्छन् । यसरी श्रमजीवी वर्गलाई आर्थिक रूपमा निरन्तर गरिबीको दुष्चक्रमा धकेल्दिन्छ । यसर्थ  प्रगतिशील सामाजिक चेतनाले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । साथै जनवादी तथा समाजवादी संस्कृतिको लागि सांस्कृतिक रुपान्तरणमा जाेड दिन्छ ।

दशैं र वर्गीय प्रभुत्व
दशैं प्रभुत्वशाली वर्गको शक्ति प्रदर्शन र श्रमिक वर्गलाई नतमस्तक बनाई राख्ने सांस्कृतिक अस्त्र हो । यसले धार्मिक मिथकमार्फत समाजलाई वर्गीय र सामाजिक विभाजन गरेको छ । यो पर्वले सामाजिक एकता र परम्पराको नाममा शोषण र असमानताको खाल्डो पारेको छ । जहाँ श्रमिक र निम्न वर्गहरू आर्थिक रूपमा झन् असुरक्षित बन्दै गएका छ्न । दशैंले सामाजिक क्षेत्रमा असमानता, विभेद र विग्रहको स्थिति सिर्जना गरेको छ । यतिमात्र होइन, अपितु पुरानोलाई जड्ताको किल्ला बनाएर राखेको छ ।

दशैं एउटा धार्मिक सत्ताको रुपमा स्थापित भएको छ । यसले विद्यमान सामाजिक सत्ता तथा सत्ताधारी वर्गका मूल्यहरूलाई वैधता दिन्छ र जनमानसमा यथास्थितिवादी मानसिकता रोप्छ । यसरी चाडबाडको अहंकारबाट वर्गीय संरचनाको निरन्तरता सुनिश्चित गर्दै उत्पीडित वर्गलाई धर्ममार्फत नियन्त्रणमा राख्ने काम गर्छ । यो संस्कृति रुढीवादी, परम्परावादी र आदर्शवादी छ । यसरी  रुढीवाद, परम्परावाद, र आदर्शवादलाई नै टेवा पुर्‍याउँछ । यो सांस्कृतिक पर्व मात्र नभएर शक्ति वर्चस्व र वर्गीय सम्बन्धहरूलाई स्थिर राख्ने एउटा रणनीति हो । यसको वर्गीय पक्षधरता छ । यसकारण यो उच्च वर्गको उत्सव हो । जेसुकै भएपनि त्यसप्रकारका सामन्तवादी, पुँजीवादी र साम्राज्यवादी संस्कृतिहरुलाई शासकहरुले धार्मिक अन्धतासँग जाेडेर नागरिकलाई लठ्ठ पारी शासन गर्ने हतियारको रुपमा प्रयोग गर्दै आएका छ्न । यो नै सत्य हो ।

रुपान्तरणको आवश्यकता र समाधान
विश्व जगतमा दुइटा दृष्टिकोण विद्यमान छ्न । पहिलो, भौतिकवादी दृष्टिकोण । दोस्रो, आदर्शवादी दृष्टिकोण । यसरी दृष्टिकोणमा रुपान्तरण विना दुनियाँ बदल्ने कुरा आदर्शमा मात्र सीमित रहन्छ । सांस्कृतिक रूपान्तरणको लागि दृष्टिकोणमा स्पष्टता र व्यवहारमा निरन्तरता अपरिहार्य छ । सर्वहारा संस्कृति, समानता र न्यायमा आधारित नयाँ समाजको आधारस्तम्भ हुनुपर्छ । जसले पुरातन प्रभुत्व र अन्यायलाई चिर्नेछ । यसरी विश्व दुई दृष्टिकोणका बीच संघर्ष चल्दै आएको छ । समग्रमा रुपान्तरणको प्रश्न निकै जटिल छ । यहाँ आदतको शक्ति, संस्कार तथा संस्कृतिको विकल्प नदिनु र मौन बस्नुको तात्पर्य उही पुरानोलाई नै स्वीकार गर्नु हो ।

आज सच्चा कम्युनिस्टहरुले यसको सही विकल्प खोज्नुपर्छ । सर्वप्रथम त सांस्कृतिक रूपान्तरणको कुरा गर्दा मुख्य रूपमा निम्न पक्षहरुमा रुपान्तरण गर्नुपर्ने हुन्छ – पहिलो, विश्वदृष्टिकोणमा रुपान्तरण । दोस्रो, कम्युनिस्टहरुको वैचारिक तथा भौतिक स्थितिमा रूपान्तरण । तेस्रो, सामाजिक रुपान्तरण । कम्युनिस्ट भनिएकाहरुको दृष्टिकोणमै समस्या छ । एकातिर उनीहरू सैद्धान्तिक दृष्टिले भौतिकवादीसम्म बन्न सकिरहेका छैनन र अर्कोतिर व्यवहारिक दृष्टिले निजी सम्पत्तिको अन्त्य गर्न पनि सकिरहेका छैनन् । यसकारण कम्युनिस्ट भनिएकाहरुको रुपान्तरण नै मुख्य विषय बन्न गएको छ । यस प्रक्रियाद्वारा मात्र सांस्कृतिक रुपान्तरणको अभियानलाई सार्थक तुल्याउन सकिन्छ ।

नेपाली समाजमा विभिन्न प्रकारका संस्कृतिहरु विद्यमान छ्न । तर, मूलभूत रुपमा निम्न संस्कृतिहरु प्रस्तुत गर्न सकिन्छ- पहिलो, सामन्तवादी संस्कृति । दोस्रो, पुँजीवादी संस्कृति । तेस्रो, संशोधनवादी संस्कृति । चौथो, साम्राज्यवादी संस्कृति । पाँचौ, द्वैधवादी संस्कृति । यसप्रकारका संस्कृतिहरु हावी नै छन । यसप्रकारले नेपाली समाजमा विद्यमान संस्कृतिको समग्रमा प्रभाव त रहने नै भयो । मुलतः नेपाली कम्युनिस्ट आन्दोलनमा द्वैधवादी संस्कृति चुनौतीको विषय बनेको छ । यो सामान्य छैन । यो दलाल पुँजीवादी संस्कृतिकै एउटा रुप हो । यो यत्रतत्रसर्वत्र छ । सामाजिक रूपान्तरण गर्नुपर्छ भन्ने भाषण गरिन्छ र निकै ठुला प्रवचन दिइन्छ । किन्तु आफू भने रूपान्तरण हुन नपर्ने प्रवृत्ति हावी छ । यसले  यता र उता दुवैतर्फ ठिक्क पार्छ । सही र गलत दुवैलाई एउटै देख्छ । यो द्वैधवादी संस्कृति हो । कम्युनिस्ट पनि बनिरहेको जस्तो देखाउने तथा पुरानो सबै मान्ने प्रवृत्ति निकै खतरनाक र डरलाग्दो स्थितिमा छ । यसरी द्वैधवादले कम्युनिस्ट सिद्धान्त मानेजस्तो गर्छ । परन्तु  सारमा आदर्शवादलाई नै ग्रहण गर्दछ ।

यसकारण नेपालमा कम्युनिस्टहरु छ्न र छैनन् भन्न सकिन्छ । किनकि यहाँ सर्वहारा वर्ग र उत्पीडित समुदाय छ । यस वर्गलाई कम्युनिस्ट होइन भन्नु वर्गीय पक्षधरताका दृष्टिले इतिहासमाथिकै अन्याय हुन्छ । किन्तु विभिन्न आवरणमा देखिने नामधारी कम्युनिस्टहरुलाई कम्युनिस्ट भन्नु पनि गलत हुन्छ । यसरी यहाँ कम्युनिस्टहरुको सन्दर्भमा ठुलो भ्रम छ । कम्युनिस्ट बन्नु भनेको मुलतः निजी सम्पत्तिको उन्मुलन गर्नु हो । नेपालको सन्दर्भमा सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले कम्युनिस्टहरु छैनन् भन्नु अन्यथा नहोला । वस्तुतः आज आधारभूत वर्ग र उत्पीडित समुदायलाई संगठनको आधार बनाएर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ । यस प्रक्रियाबाट  कम्युनिस्टहरु उत्पादन गर्न सकिन्छ । साथै कम्युनिस्ट पार्टी पुनर्गठन गर्न पनि सम्भव छ । यस स्थितिमा सर्वहारा संस्कृति, समानता र न्यायमा आधारित नयाँ समाजको आधारस्तम्भ गर्न सकिन्छ ।

निचोड
दशैंलाई समाजको एकप्रकार गहिरो वर्गीय प्रभाव र सांस्कृतिक प्रभुत्वको रूपमा बुझ्नुपर्छ । यहाँ शोषक वर्गले दशैंलाई आफ्नो प्रभुत्वको निरन्तरता दिने औजारको रूपमा प्रयोग गर्दै आएको छ । यसप्रकारका मिथकहरूलाई चिर्न श्रमजीवी वर्गको सांस्कृतिक रूपान्तरणलाई बलियो बनाउने अभियान संचालन गर्न आवश्यक छ । सर्वहारा वर्गीय चेतनाको विकास र सांस्कृतिक रूपान्तरणद्वारा समाज परिवर्तन गर्न सकिन्छ । दशैंको विकल्पका रुपमा नयाँ श्रमिकमैत्री संस्कृति स्थापित गर्न सक्नुपर्छ । जसले समानता र न्यायको मूल्यमान्यता स्थापित गर्छ । यसरी मात्र सामन्तवादी, पुँजीवादी र साम्राज्यवादी सांस्कृतिक प्रभुत्वको अन्त्य र समाजवादी रूपान्तरण सम्भव छ ।

माक्र्सवादी दृष्टिकोणबाट दशैंले एउटा सांस्कृतिक संघर्षको प्रतिनिधित्व गर्छ । यो शासक वर्गको सांस्कृतिक हिगेमोनीको प्रतिरूप हो । जसले उत्पीडित वर्गलाई शोषण र प्रभुत्वको सञ्जालमा बाँधेर राख्ने दुस्साहस गर्छ । त्यसैले यसमा दशैंको वास्तविकता र मिथकताहरूको भेद खुलाउने प्रयत्न गरिएको छ । खासगरी दशैं शोषक वर्गको उत्सव हो । यसको विकल्प सामाजिक तथा सांस्कृतिक रुपान्तरणद्वारा मात्र सम्भव छ । यसरी जनताद्वारा गरिएको बलिदानलाई आधार बनाएर श्रमिक वर्गको उत्सवका रूपमा नयाँ संस्कृतिको  विकास गरिनुपर्छ । यो नै नयाँ संस्कृतिको सही विकल्प हुन सक्छ । यसरी सर्वहारा संस्कृतिको स्थापना नै यसको  वास्तविक समाधान हो ।

दशैंले समाजमा शासक वर्गको प्रभुत्वलाई पुन: उत्पादन गर्दै आएको छ । जहाँ उत्पीडित वर्गलाई धर्म, परम्परा र ऋणको चक्रमा फसाइन्छ । यसको समाधान सांस्कृतिक रूपान्तरण नै हो । सांस्कृतिक संघर्ष र वर्गीय आन्दोलन एकैसाथ अघि बढ्दा मात्रै सांस्कृतिक रूपान्तरण सम्भव हुन्छ । त्यसैले सर्वहारा संस्कृतिको स्थापना गर्नु नै नयाँ युगको शुरुआत हुनेछ । यो नयाँ संस्कृति श्रम र न्यायमा आधारित हुनुपर्छ । यसरी आजको समयमा दशैंजस्ता चाडपर्वको विकल्प खोज्दै, श्रमिकमैत्री र न्यायपूर्ण संस्कृति निर्माण नै सही समाधान हो । सांस्कृतिक रूपान्तरण र वर्गीय संघर्षको एकताले मात्र नयाँ युगको शुरुवात गर्न सकिन्छ ।

सम्बन्धित
Loading...