एकताको रोदन र ध्रुवीकरणको अनिवार्यता

0 52

भुपेन्द्र
नेपाली कम्युनिस्ट आन्दोलनले अनगिन्ती एकता र विभाजनका चक्रहरू पार गर्दै आएको छ । यी चक्रहरू नियाल्दा आन्दोलनको इतिहासमा एकातिर त्याग, तपस्या, समर्पण, वीरता र बलिदानका कीर्तिमानहरु देखिन्छन् भने अर्कोतिर विचलन, संशय र अवसरवादको कालो बादल मडारिएको अनुभूति हुन्छ । कम्युनिस्ट आन्दोलनमा एकता र विभाजन मात्र होइन, अपितु विचारधारात्मक स्पष्टता र अन्धभक्तिपूर्ण आत्मसमर्पणबीच संघर्ष पनि निरन्तर रुपमा चलिरहेको छ । यो अवस्थाबाट मुक्त नभई क्रान्तिको गन्तव्य केवल कल्पनामा सीमित रहन्छ । किनभने समाज एक सचेत धक्का विना अगाडि बढ्न सकिदैन । क्रान्ति केवल सपना मात्र होइन, समाज रूपान्तरणको अनिवार्य गति, ऐतिहासिक आवश्यकता तथा समाज विकासको चालक शक्ति हो । यसरी क्रान्तिकारी शक्तिले प्रतिक्रान्तिकारी तत्व विरुद्ध संघर्ष गर्दै आएको छ ।

मुलतः टुटफुट नेपाली कम्युनिस्ट आन्दोलनको मात्र समस्या होइन । नेपाली कम्युनिस्ट आन्दोलन त विश्व कम्युनिस्ट आन्दोलनको एउटा अंश हो । यसरी यो टुटफुटको सन्दर्भ त विश्व कम्युनिष्ट आन्दोलनकै जटिल समस्याकै रुपमा रहिआएको छ । जब कम्युनिष्ट लिगको गठन भयो, त्यही देखि नै एकता र फुटको स्थिति सुरु भएको देखिन्छ । त्यो गुटवादी, फुटवादी, अवसरवादी र संशोधनवादीहरुको कारणले भएको कुरा प्रष्ट छ । यसरी माक्र्स र एंगेल्सले बर्नस्टिनको शास्त्रीय संशोधनवाद र बाकुनिनको अराजकतावादका विरुद्ध संघर्ष गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अवसरवादबाट अलग गर्नुभयो । त्यसरी हरेक समयमा क्रान्तिकारीहरुले अवसरवाद विरुद्ध संघर्षको प्रक्रियाद्वारा कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै आएका छ्न । विश्व कम्युनिस्ट आन्दोलन क्रान्तिकारी र अवसरवादी धारामा विभाजित हुँदै आएको छ । यसर्थ कम्युनिस्ट आन्दोलनको टुटफुट र विभाजनको सन्दर्भ अन्तर्राष्ट्रिय परिघटना हो ।

नेपाली कम्युनिस्ट आन्दोलन एकताको मृगतृष्णा र वैचारिक अस्पष्टता वरिपरि घुमिरहेको छ । कम्युनिस्ट आन्दोलनले अनेकौँ एकता, विभाजन र पुनर्गठनका प्रक्रियाहरु पार गर्दै आएको छ । तर तीमध्ये अधिकांश असफल भए । किन? किनभने ती एकताहरू सतही सम्झौता मात्र थिए । खासगरी गहिरो वैचारिक बहसद्वारा एकता-संघर्ष-रूपान्तरणका आधारमा एकता गरिएका थिएनन् । यसर्थ वर्गसंघर्षको कठोरताबाट परीक्षित नभएका एकताहरू दिगो हुने कुरा पनि भएन । जसरी काँचको महलमा एउटा झट्काले दरार पार्छ, त्यस्तै असैद्धान्तिक सम्झौताले जन्माएका एकताहरू पहिलो धक्कामै चकनाचुर हुन पुगे । यसरी विगतका एकताहरुले सार्थकता पाएनन् । यसको गम्भीर समीक्षा गर्नुपर्ने हुन्छ ।

क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती भनेकै अवसरवादी प्रवृत्ति हो । मुख्यतः दक्षिणपन्थी अवसरवाद हो । जब विचारहरू अस्पष्ट हुन्छन् र जब आत्मसंघर्षको साहस हराउँछ, तब आन्दोलनमा अवसरवादी प्रवृत्तिहरू मौलाउँछन् । यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण सर्वप्रथम सर्वहारा क्रान्तिको विज्ञान एवं सर्वहारा वर्गको मुक्ति दर्शन माक्र्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शन र ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको जगमा गर्नुपर्छ । साथै, वैज्ञानिक र ऐतिहासिक अनुभव तथा नयाँ परिस्थिति र आधारभूत वर्ग एवं समुदायको भौतिक उपस्थितका आधारमा कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने हुन्छ । तर, नेपाली कम्युनिस्ट आन्दोलनमा व्यक्तिवाद, गुटबन्दी, स्वार्थप्रेरित गठबन्धन तथा अवसरवादी प्रवृत्तिहरूको घनघोर प्रभाव रहेको छ । यस स्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनको सर्वहाराकरण सम्भव भएन । यसर्थ कम्युनिस्ट पार्टी निर्माण पनि हुन सकेन । कम्युनिस्ट पार्टी निर्माणको लागि सच्चा क्रान्तिकारीहरू वैचारिक रूपमा अधिक परिष्कृत हुनु जरुरी छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा एकताको मोहजाल र रोदन फैलाइएको छ । परिस्थिति क्रान्तिकारी ध्रुवीकरणको देखिन्छ । तर, केही मानिसहरू एकताको चिच्चयाहट गरिरहेका छन् । जसरी सत्ताका दलालहरू चुनाव नजिकिँदा स्थायित्व, शान्ति, समृद्ध नेपाल र सुखी नेपालीको गुड्डी हाँक्छन् । त्यस्तै रूपमा केही कम्युनिस्ट भनिएकाहरू पनि एकताको घण्टी बजाइरहेका छन् । अर्थात् एकताको हुङ्कार दिइरहेका छ्न । के कुनै अमुक व्यक्तिको इच्छाले क्रान्तिकारी एकता सम्भव हुन्छ? के मनोगत चिच्चयाहटले इतिहासको गति बदल्न सक्छ? मार्क्स र एंगेल्सले ‘संसारका मजदुर एक होऔं’ भन्नुभएको छ । यो मार्गनिर्देशनात्मक विचार र गगनभेदी नारा हो । तर, मजदुरहरु विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरुको भ्रमजालमा फसेका छ्न । यसरी मजदुर आन्दोलन अर्थात् कम्युनिस्ट आन्दोलन विभाजित अवस्था रहेको छ । व्यवहारत: कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकृत गर्न जरुरी छ ।

समग्रमा जीवन र जगतको गतिशील प्रक्रिया र वर्गसंघर्षको नियम अनुसार, समाज स्थिर रहदैन । वस्तुतः गतिशील रहिआएको छ । हरेक संरचना र आन्दोलन द्वन्द्वात्मक रूपमा अगाडि बढ्छ । जब क्रान्तिकारी र अवसरवादीहरू एउटै थलोमा बस्छन्, तब अन्ततः ती दुई प्रवृत्तिहरू एकअर्कासँग टकराएर एक निश्चित परिस्थितिमा अलग हुन्छन् । महान क्रान्तिकारी लेनिनले भन्नुभएको थियो- “हामी विभाजनबाट डराउँदैनौं । मजदुर वर्गको आन्दोलन अनिवार्य रूपमा संघर्षसित गाँसिएको हुन्छ ।” यो अवसरवादसँग सम्बन्ध विच्छेद गर्न डराउनु हुँदैन र त्यसप्रकारको आँट नगरी कम्युनिस्ट पार्टी निर्माण हुन सक्दैन भन्ने संश्लेषण हो । जब सुधारवादी, संशोधनवादी र अराजकतावादी प्रवृत्तिहरू आन्दोलनभित्र नै गहिरो रूपमा जरा गाड्छन्, तब क्रान्तिकारीहरू त्यसप्रकारका प्रवृत्तिबाट स्पष्ट रूपमा अलग हुनुपर्छ । संघर्ष विनना एकताको मोहले भ्रम सिर्जना मात्र गर्छ । किन्तु, क्रान्तिकारी ध्रुवीकरणले कम्युनिस्ट पार्टी निर्माणका आधारहरु तयार पार्दै क्रान्तिको प्रक्रियामा अगाडि बढ्ने मार्ग प्रशस्त गर्छ ।

विश्व राजनीति ध्रुवीकरणको दिशामा अगाडि बढिरहेको छ । साम्राज्यवादको आन्तरिक संकट, विश्वव्यापी संघर्षको नयाँ स्वरूप तथा बहुध्रुवीय शक्ति सन्तुलनले नयाँ समीकरणहरू जन्माइरहेका छन् । त्यस स्थितिको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने नै भयो । यसरी नेपाल अर्धसामन्ती तथा अर्धऔपनिवेशिक र नवऔपनिवेशिक विशेषता सहित प्रत्यक्ष उपनिवेशको चक्रव्यूहमा फसेको छ । यस स्थितिमा ध्रुवीकरण प्रक्रिया असान्दर्भिक हुन सक्दैन । वर्गसंघर्षको उत्कर्षमा कम्युनिस्ट आन्दोलन पनि अनिवार्य रूपमा दुई धारमा विभक्त हुने कुरा निश्चित छ । एकातिर क्रान्तिकारीहरू र अर्कोतिर अवसरवादीहरू रहन्छन् । यो ऐतिहासिक गति र नियमसंगत कुरा हो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा केही आत्ममुग्ध “सुरवीर” छन् । जो आफूलाई मात्र क्रान्तिकारी ठान्छन् र अरूलाई अस्वीकार गर्छन् । यिनै प्रवृत्तिका कारण आन्दोलन एकताबद्ध हुन सकेन । यदि व्यक्तिगत वैचारिक दम्भले मात्र क्रान्ति सम्भव हुन्थ्यो भने, साम्यवाद धेरै अघि स्थापित भइसक्थ्यो । तर, क्रान्ति जनताले गर्छन्, न कि व्यक्तिवादी प्रभुत्ववादीहरूले गर्छ । मुलतः कम्युनिस्ट आन्दोलनमा असमानता, विभेद र शोषण अस्वीकार्य छ । तर व्यवहारतः केही नामधारी कम्युनिस्ट शक्तिहरूले पुरानै मत्स्य न्याय कायम गरिरहेका छन् । जहाँ सर्वहारा वर्गीय न्यायको स्थान छैन । वास्तविक न्याय समान वितरण प्रणालीद्वारा मात्र सम्भव छ । जसका लागि निजीकरणको पूर्ण उन्मूलन अनिवार्य छ ।

खासगरी जो एकता नै चाहदैनन्, उनीहरू एकताको नारालाई बेमौसमी संगीतझैं बजाइरहेका छ्न । एकताको नारालाई एक सहनाईको बाज जस्तै बनाएका छ्न । एकता र विभाजन द्वन्द्वात्मक छन् । यही नियमअनुसार कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । पुराना आधारहरू भत्किन्छन् । संघर्षबाट नयाँ एकता जन्मन्छन् । तर, निरपेक्ष एकता भन्ने हुँदैन । एकता सापेक्ष र अस्थायी हुन्छ । न त वर्गसंघर्षविना एकता सार्थक हुन्छ । सर्वहारा वर्गका महान नेता माओत्सेतुङ भन्नुभएको छ- “जो एकताको मात्र कुरा गर्छन् र संघर्षको कुरा गर्दैनन्, तिनीहरू माक्र्सवादी-लेनिनवादी होइनन् ।” तर कम्युनिस्ट भनिएकाहरु सहमति र सम्झौताको संगीतमा बेमौसमी बाजा बजाइरहेका छ्न । इतिहास सधैं संघर्षकै लयमा अगाडि बढ्छ । एकता र विभाजन द्वन्द्वात्मक भौतिकवादको सार्वभौम नियमसँग सम्बन्धित छ । यो हरेक दुईमा विभाजनमा संबद्ध हुन्छ । यसप्रकारले सबै विकास र विनाशको अनिवार्य गतिको नियमसँग सम्बन्धित छ्न । नेपाली कम्युनिस्ट आन्दोलन पनि यसै नियमअन्तर्गत पुनःसंरचित हुँदैछ । यस प्रक्रियाले पुराना र जीर्ण आधारहरू भत्काउँछ र नयाँ संघर्षबाट नवीनतम एकताका आधारहरु खडा गर्छ । यसरी नयाँ आधारमा नयाँ एकताको प्रक्रिया सुरु हुन्छ ।

कम्युनिस्ट पार्टी निर्माणसँगै जनएकता तथा रुपान्तरणको प्रक्रियामा अगाडि बढाउनुपर्छ । एकता गर्नु हुन्न भन्ने किमार्थ होइन । तर, ऐतिहासिक आवश्यकता र वस्तुगत स्थितिले एकताको निर्धारण गर्छ । अन्यथा मनोगत हुन्छ । प्रथमतः क्रान्तिकारी ध्रुवीकरणको प्रश्न कुनै व्यक्तिगत चाहना अनुरुप होइन, अपितु यो ऐतिहासिक आवश्यकताबाट निर्देशित छ । यसर्थ यो कुनै अमुक पात्रको व्यक्तिगत आकांक्षामा हुन सक्दैन । द्वितीय, एकता अस्थायी र सापेक्ष हुन्छ । यो वस्तुगत आवश्यकताको मागका आधारमा गर्नुपर्छ । तृतीय, आज नेपालमा कम्युनिस्ट पार्टी छैनन् । यथास्थितिमा कम्युनिस्ट पार्टी बन्न पनि सक्दैन । यसको लागि समग्रमा क्रमभंग आवश्यक छ । चतुर्थ, नेपालमा बहुसंख्यक उत्पीडित एवं सर्वहारा वर्ग छ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रगामी तत्वबाट बनेको हुनुपर्छ । तर, नेपालमा त्यस अनुसारको कम्युनिस्ट पार्टी निर्माण हुन सकेको छैन । यसर्थ क्रान्तिकारी कम्युनिस्ट निर्माण गर्नुपर्छ ।

नेपाली कम्युनिस्ट आन्दोलन विघटन वा विभाजनको दलदलमा फसेको छ । यसका कारणहरू त अनेकौं हुन सक्छन् । तर, प्रमुख कारणहरू निम्नानुसार छ्न- पहिलो, विश्वदृष्टिकोणको समस्या । नेपाली कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक तथा भौतिकवादी विश्वदृष्टिकोण निर्माण हुन सकेन । ऐतिहासिक भौतिकवादको गहिरो अध्ययन र कार्यान्वयन नहुँदा अवसरवाद हावी नै रह्यो । जसले कम्युनिस्ट पार्टी बन्न दिएन । दोस्रो, साम्राज्यवादको चलखेल । यसरी बाह्य शक्ति केन्द्रहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न दलालहरु उत्पादन गरी परिचालन गरे । त्यसप्रकारले नेपाली कम्युनिस्ट आन्दोलनमा वामरुपक सुधारवादी र दुस्साहसवादी दलालहरु क्रान्तिकारी आन्दोलन ध्वस्त पार्न सक्रियतापूर्वक परिचालित छ्न । त्यसले कम्युनिस्ट आन्दोलनलाई दिशाहीन मात्र होइन, विसर्जनकै स्थितिमा पुर्‍याउछ । तेस्रो, यहाँसम्म आइपुग्दा नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक र नवऔपनिवेशिक विशेषता सहित प्रत्यक्ष उपनिवेशको प्रभुत्वमा पुगेको छ । यसरी नेपालको अर्थ-सामाजिक संरचना आफैंमा साम्राज्य राज्यको प्रभुत्व र नियन्त्रण रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा पनि त्यसको गहिरो प्रभाव रहने नै भयो । फलतः साम्राज्यवादले कम्युनिस्टहरुको विकास नहुदै हत्या गर्दै आएको छ । चौथो, कम्युनिस्ट आन्दोलनमा नेतृत्वको व्यक्तिवादी अहंकार, गुटबन्दी, व्यक्तित्वको टकराव र गैर-सर्वहारा वर्गीय संस्कृतिले आन्दोलनलाई दिशाहीन बनाएको छ । जसको कारण कम्युनिस्ट आन्दोलन चक्नाचुरको स्थितिमा छ । पाँचौ, क्रान्तिकारी र अवसरवादीहरुको भिन्नता नछुटिनु पनि गम्भीर समस्या हो । यसरी अवसरवादीहरु र कम्युनिस्टहरु एउटै टोकरीमा राख्दा अवसरवादलाई मलजल पुगेको छ । सच्चा क्रान्तिकारी र कपटी सुधारवादीबीच स्पष्ट रेखा कोर्न सकिएन । त्यो वैचारिक विचलन कार्यनीतिक बहसको आवरणमा लुकेर बस्यो । त्यसरी सुधारवादले क्रमशः क्रान्तिकारी धारालाई निषेध गर्दै आएको छ ।

अत: आजको स्थितिमा वर्गसंघर्षको विज्ञानले ध्रुवीकरणलाई अपरिहार्य बनाइरहेको छ । यो ऐतिहासिक आवश्यकता बनेको छ । यसरी अवसरवादी र क्रान्तिकारीहरुबीचको भिन्नता नछुट्याई ‘एकता’ भन्ने कुरा केवल आत्मप्रहसन मात्र हुन्छ । एकता र ध्रुवीकरण भन्ने कुरा व्यक्तिको इच्छाबाट निर्देशित हुने कुरा होइनन् । यो ऐतिहासिक आवश्यकताले निर्धारण गर्छ । यदि हामीले क्रान्तिकारी दृष्टिकोणलाई सुदृढ गर्न सकेनौं भने, क्रान्तिको लक्ष्य केवल दिवास्वप्न मात्र बन्न पुग्छ । खासगरी संसदीय अवसरवादमा रमाइरहेका र त्यसैको सेरोफेरोमा नाचिरहेका तथाकथित क्रान्तिकारी भनिएकाहरु क्रान्तिकारीताको मुकुण्डाे लगाएर भ्रम फैलाइरहेका छन् । क्रान्तिकारी सच्चा कम्युनिस्टहरुले यो अवसरवादी आवरण च्यातेर वर्गसंघर्षको अगुवाइ गर्नुपर्छ । क्रान्ति केवल शब्दजाल होइन, अपितु क्रान्ति विज्ञान हो । क्रान्तिकारी आन्दोलन व्यवहारिक प्रयोगबाट विकास हुन्छ । यसरी सच्चा क्रान्तिकारीहरूले संसदीय भ्रमजाल तोडेर यथास्थितिमा क्रमभंग गर्दै क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियाबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने साहस गर्नुपर्छ । यसको लागि क्रान्तिकारी ध्रुवीकरणको मार्ग अपनाउनु अपरिहार्य छ ।

सम्बन्धित
Loading...