बस्यो संसदवादी दलहरूको सर्वदलीय बैठक र निकाल्यो निष्कर्ष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठकले गत शुक्रबार तीनकुने र आसपास क्षेत्रमा भएको तोडफोड, आगजनी, लुटपाट र हत्या जस्ता घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी राजनीतिक दलहरूले शाह संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिकामा रहेको ठहर गरेका छन् ।
बैठकमा सहभागी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेसपा-नयाँ शक्ति लगायतका दलहरूको उपस्थिति रहेको थियो ।
बैठकले घटनाको छानबिन गरी दोषीहरूलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, विद्यमान गणतान्त्रिक व्यवस्थाको रक्षा गर्न आवश्यक रणनीति निर्माण गर्ने निर्णय समेत गरेको छ । राजनीतिक दलहरू बीच एकता कायम गर्दै भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्ने प्रतिबद्धता बैठकले जनाएको छ ।