देश र जनता जल्दै, प्रधानमन्त्री बोल्दै थाइल्यान्ड शिखर सम्मेलन: गफ र गम्भीरता

0 23

काठमाडौं । चैत्र २०, प्रधानमन्त्री केपी शर्मा ओलि प्रथम महिला राधिका शाक्य र परराष्ट्र मन्त्री आर्जु राणासहित २१ जनाको टाेलि लिएर सार्क सम्मेलनको साइततर्फ प्रस्थान गरेका छ्न । देश भित्र पुनस्र्त्थानवादी हावाहुरी चल्दैछ र यथास्थितवादीहरुको बाढी उर्लेको छ । तर, प्रधानमन्त्री उड्नु भएको छ । मुलुकभित्र महँगीको डढेलो, भ्रष्टाचारको महामारी, सीमा अतिक्रमणको घाउ, राजनीतिक अस्थिरताको तुफान, अनि जनता दिनानुदिन पिल्सिएको यथार्थ— यी सबैका बीच प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो प्रिय टोलीसहित थाइल्यान्डतर्फ उडेका छन् । देशभित्र नागरिक आर्थिक भूकम्पको कम्पनले थरथर काँपिरहेका छन्, तर सरकार भने वैदेशिक यात्रामा रमाइरहेको छ ।

सम्मेलन कि औपचारिकता?
थाइल्यान्ड शिखर सम्मेलनका प्रमुख एजेन्डाहरू छन्— जलवायु परिवर्तन, व्यापारिक सहकार्य, क्षेत्रीय सुरक्षा, प्रविधि साझेदारी र कूटनीतिक सम्बन्ध सुधार । तर नेपालले यस्ता विश्वव्यापी मञ्चहरूमा के कति सार्थक भूमिका खेल्न सक्छ? कि यो केवल उपस्थिती जनाउने औपचारिकता मात्रै हो?

नेपालका कूटनीतिक प्राथमिकता भन्नलाई ठूलै छन्— विदेशी लगानी आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, श्रम समझदारी बढाउने। तर, विगत हेरौं त— यस्ता सम्मेलनहरूबाट नेपालले प्रचारात्मक उपलब्धि बाहेक ठोस के पाएको छ? नेताहरूले महाशक्ति नेपालको सपना देखाउने, व्यवहारमा भने अनुदान याचना गर्दै झुक्ने— यही त नेपाल कूटनीतिको परम्परा बनिसकेको छैन र?

सम्झौताका भारी, उपलब्धिको छारी
प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको हितका लागि भन्दै बलियो भाषण गर्लान्, कूटनीतिक मुस्कानका साथ विदेशी नेताहरूसँग हात मिलाउलान्, फोटोग्राफरका लागि आकर्षक पोज देलान् । तर, वास्तविक उपलब्धि के होला? नेपाल सम्झौताका भारी बोकेर घर फर्कने अनि तिनको कार्यान्वयन सून्य- यही त हाम्रा कूटनीतिक यात्राका निष्कर्ष हुने गरेका छन् ।

यसो त नेपाली नेताहरूको विदेश भ्रमण भनेको सुविधासम्पन्न कूटनीतिक पिकनिक झैं भइसकेको छ । महँगा होटलहरूमा बस्ने, राजकीय भोजमा रमाउने, विदेशी चासोका विषयमा ठूला गफ दिने र अनि नेपाल फर्केर यात्रा सफल भयो भन्दै प्रेस विज्ञप्ति निकाल्ने यही हो त हाम्रो कूटनीतिक सन्देश?

देशभित्र संकट र विदेशमा उत्सव!
नेपाली जनताका लागि मुख्य प्रश्न यही हो— सरकार विदेशमा यात्रा गर्दैछ । तर देशभित्र नागरिकका आधारभूत आवश्यकताहरू भने बेवास्ता हुँदै गएका छन् । मुलुकभित्र आर्थिक संकटले गाँजेको छ । युवा विदेश पलायन भइरहेका छन् । तर सरकारलाई भने ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाउने’ चटारो परेको छ ।

अब प्रश्न उठ्छ— प्रधानमन्त्रीको यो यात्रा मुलुकका लागि उपलब्धिमूलक हुन्छ, कि फेरि पनि अहंकारको उडान मात्र सावित हुनेछ? नेपाल अब केवल गफ गर्ने होइन, गम्भीर बन्नुपर्ने समय आइसकेको छ ।

सम्बन्धित
Loading...