उपत्यकामा वायु प्रदूषणको संकट: कागेश्वरी मनोहराको सावधानीका लागि अनुरोध
काठमाडौँ । २०८१ फागुन २९ –पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर उच्च देखिएको छ । यस अवस्थालाई मध्यनजर गर्दै कागेश्वरी मनोहरा नगरपालिकाले एक आधिकारिक विज्ञप्ति जारी गर्दै नगरवासीलाई सचेत रहन आग्रह गरेको छ ।
नगरपालिकाका अनुसार हाल वायु प्रदूषणको प्रमुख कारण वन डढेलो, औद्योगिक उत्सर्जन, सवारी साधनबाट निस्कने धुँवा, खुला रुपमा जलाइने फोहोर, निर्माणकार्यको धुलो तथा सडकमा उड्ने धुलो हुन् । नगरपालिकाले विशेष गरी वृद्ध, बालबालिका, दीर्घरोगी तथा गर्भवती महिलालाई सचेत गराएको छ ।
नगरपालिकाका प्रवक्ता हिरण गजुरेलका अनुसार विगत केही सातादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको दर अस्वाभाविक रूपमा बढेको छ । हामी सबैले मिलेर सावधानी अपनाउन आवश्यक छ ।
नगरपालिकाले बाहिर निस्किँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, घरभित्र रहन, धुवाँधुलोयुक्त क्षेत्रमा नजान र आवश्यक परेमा चिकित्सकको परामर्श लिन आग्रह गरेको छ । साथै, निर्माण कम्पनीहरूलाई धुलो नियन्त्रणका उपाय अपनाउन र स्थानीय बासिन्दालाई खुला रूपमा फोहोर नजलाउन अनुरोध गरिएको छ ।
विशेषज्ञहरूका अनुसार यदि तत्काल सुधारका उपायहरू लागू नगरेमा वायु प्रदूषणले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ । स्थानीय तथा संघीय निकायहरूले समेत यस विषयमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।