सर्वसाधारणको पहुँचभन्दा बाहिर एम्बुलेन्स सेवा?

पञ्चदेवल बिनायक नगरपालिकामा सेवाको नाममा पहुँचको खेल

0 14

अछाम । चैत्र,२३- पञ्चदेवल बिनायक, – ‘२४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध’ भन्दै प्रचार गरिँदै आएको पञ्चदेवल बिनायक नगरपालिकाको सेवा वास्तवमै सर्वसाधारणको लागि हो कि पावरवालाहरुको लागि मात्र? यही प्रश्न यतिबेला स्थानीयस्तरमा चर्किदै गएको छ ।

नगरपालिकाले बारम्बार ‘जनताको सेवामा’ एम्बुलेन्स खटाइएको दाबी गरिरहे पनि कतिपय सर्वसाधारण नागरिक भने विपत्तको बेला एम्बुलेन्ससम्बन्धी सेवाबाट वञ्चित भइरहेका छन् । स्थानीय बासिन्दाको भनाइमा, गरीब र पहुँचविहीनको घरमा एम्बुलेन्स कहिल्यै पुग्दैन भने, पहुँचवालाहरुको घरमा भने सेवा तुरुन्तै पुग्ने गरेको छ ।

एक जना विपन्न घरका युवाले म यो नगरपालिकाकै बासिन्दा हुँ । तीन पटक एम्बुलेन्स आवश्यक भयो, तीनै पटक विवाद भयो । फोन गरेँ, आएन, पछि थाहा भयो, एम्बुलेन्स कुनै नेताजीको घरमा गइसकेको रहेछ भनेर आक्रोशित अभिव्यक्तिमा बताए । उनले अगाडि भने यदि एम्बुलेन्स पहुँचवालाको घरको लागि मात्र हो भने ठिक छ, तर सबैका लागि भनेर प्रचार गर्ने हो भने मेयरप्रति गम्भीर आपत्ति छ ।

प्राप्त जानकारीअनुसार नगरपालिकामा एम्बुलेन्स सेवा संचालनमा पारदर्शिता र निष्पक्षता नभएको गुनासो बारम्बार उठ्दै आएको छ । सेवा कस्तो छ? कसको लागि छ? कसरी सञ्चालन हुन्छ? भन्ने विषयमा नगरपालिकाले स्पष्ट जानकारी सार्वजनिक नगरेको आरोप स्थानीयको छ ।

यस विषयमा नगरपालिका प्रमुखसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । अब प्रश्न उठ्छ – के स्थानीय सरकारका सेवाहरू सचमुच जनताको लागि हुन्? वा यी केवल पावर र पहुँचवालाको विशेषाधिकार बनेका छन्? स्थानीय तहमा जनताका आधारभूत सेवा सुनिश्चित गर्न राज्यका निकाय गम्भीर हुन आवश्यक छ । अन्यथा जनताको सरकार भन्ने नाराको अर्थ निरर्थक छ र मात्र प्रचारमै सीमित हुनेछ ।

सम्बन्धित
Loading...