नेपालले १६औं विश्वकप योग खेलकुद प्रतियोगितामा २ स्वर्णसहित ६ पदक जित्यो
२५ चैत, काठमाडौं । मलेसियाको क्वालालाम्पुरमा शनिबार र आइतबार अर्थात् अप्रिल ५ र ६ सम्पन्न १६औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ६ पदक जित्न सफल भएको छ । यस प्रतियोगितामा नेपालका ३१ खेलाडी विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्दै उपस्थित थिए ।
नेपालका लागि पुरुषतर्फ ९–११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र महिलातर्फ १२–१४ वर्ष उमेर समूहमा प्रत्युशा खतिवडाले स्वर्ण पदक जिते । यसका अतिरिक्त, पुरुषतर्फ ९–११ वर्ष उमेर समूहमा अमिश पटेलले रजत र किरण मगरले कास्य पदक प्राप्त गरे । महिलातर्फ संस्कृति चैलागाईं र १५–१७ वर्ष उमेर समूहका सुन्दर सार्कीले कास्य पदक जिते ।
अंतर्राष्ट्रिय योग खेलकुद महासंघको आयोजना गरेको यस प्रतियोगितामा २३ राष्ट्रका १५३ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । नेपाल योग खेलकुद संघले २०१७ देखि अन्तर्राष्ट्रिय महासंघको सदस्यता प्राप्त गरी दक्षिण एसियाली, राष्ट्रिय, प्रदेशस्तरीय र उपत्यकास्तरीय प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन गरेको छ । जसमा करिब ५०० योग खेलाडीहरू सदस्य भएका छन् ।
यस सफलता संगै नेपालले योग खेलकुद क्षेत्रमा आफ्नो स्थान बलियो बनाएको छ । यसरी आगामी वर्षहरूमा अझ ठूलो सफलता प्राप्त गर्ने लक्ष्य राखेको स्रोतले जनाएको छ ।