पूर्वराजाको संविधानविरोधी गतिविधिमा सरकार गम्भीर : सञ्चारमन्त्री गुरुङ

0 7

काठमाडौं । चैत्र, २५ – नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानविपरीत कुनै पनि गतिविधि गरे सरकार कठोर कारबाहीमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

लमजुङमा आयोजित एक फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पूर्वराजाले राजनीतिक दलहरूसँग विगतमा गरिएको सहमतिलाई उल्लङ्घन गर्दै मुलुकको संविधानविपरीतको क्रियाकलापहरूमा संलग्न हुँदै गएको आरोप लगाए ।

संविधान भनेको नेपाली जनताले बनाएको साझा दस्तावेज हो। यसलाई अस्वीकार गर्ने, भत्काउने वा उपेक्षा गर्ने अधिकार कसैलाई पनि छैन — चाहे त्यो पूर्वराजा नै किन नहोस्, मन्त्री गुरुङले स्पष्ट शब्दमा भने ।

उनले पूर्वराजाको पछिल्ला अभिव्यक्ति र गतिविधिहरू संविधानविरोधी रहेको टिप्पणी गर्दै सरकार कानुनी प्रक्रिया अनुसार अघि बढ्न तयार रहेको बताए ।

पूर्वराजा शाहले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भई गणतन्त्र र संघीयताप्रति आलोचना गर्दै आएका छन् । उनका अभिव्यक्तिहरूले संविधानको मूल मर्ममा चुनौती दिएको भन्दै राजनीतिक वृत्तमा बहस चर्किएको छ ।

यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको र लोकतान्त्रिक मूल्यमान्यताको खिल्ली उडाउने जुनसुकै तत्वमाथि कानुनी कारबाही हुने बताएका थिए ।

संविधान कार्यान्वयनको ८ वर्षपछि पनि राजसंस्थाको बहालीका पक्षमा विभिन्न समूहहरू सक्रिय हुँदै गएको अवस्थामा मन्त्री गुरुङको चेतावनीलाई सरकारको कडाइको संकेतका रूपमा हेरिएको छ ।

सम्बन्धित
Loading...