बान्नीगढी जयगढ बजारमा भएको आगलागीका पीडितहरुलाई प्रदेश सरकारले राहत दिने,
कैलाली । बुधबार, २७ चैत- अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट क्षति व्यहोरेका परिवार तथा व्यवसायीहरुलाई विपदको घडीमा प्रारम्भिक राहत स्वरुप ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराइने बताएका छ्न ।
जयगढ बजारमा भएको आगलागीबाट प्रभावित परिवार र व्यवसायीको तत्काल राहतका लागि बान्नीगढी जयगढ गाउँपालिकामार्फत ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको कुरा मुख्यमन्त्री शाहले बताए । उनका अनुसार, पीडितलाई सहायता रकम वितरण गर्न पालिकाले स्पष्ट मापदण्ड तयार पार्नेछ ।
घटनाको स्थलगत अध्ययनका लागि सामाजिक विकास मन्त्री तथा आन्तरिक मामिला मन्त्रीलाई जयगढ पठाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।