भूमण्डलीकृत साम्राज्यवादी विश्व संकटतर्फ: अमेरिका–चीन व्यापार युद्ध पुनः चर्किंदै
अन्तर्राष्ट्रिय । २८, चैत — भूमण्डलीकृत पुँजीवादी बहुध्रुवीय विश्व साम्राज्य व्यवस्था संकटग्रस्त बन्दै गएको छ । यसरी विश्व महाशक्तिहरुबीचको युद्ध खतरा नजिकैदै छ । फलत: भूमण्डलीकरणको नाममा थोपारिएको उपनिवेशिक पुँजीवादी विश्व प्रणाली आज गहिरो संकटमा फँसिरहेको छ । यसरी बहुध्रुवीय शक्तिकेन्द्रहरूबीचको परस्पर द्वन्द्व तीव्र बन्दै गएको छ । जसले तेस्रो विश्वयुद्धको खतरा समेत गहिर्याउँदै लगेको छ । यसै सन्दर्भमा विश्वका दुई प्रमुख आर्थिक तथा सैनिक महाशक्ति अमेरिका र चीनबीचको व्यापार युद्ध पुनः चर्किन थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि आक्रामक व्यापार नीतिको निरन्तरता दिँदै करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ वस्तुहरूमा १२५ प्रतिशतसम्मको ट्यारिफ (शुल्क) लगाउने निर्णय गरे । योसाथै, अमेरिकी राष्ट्रपति ट्रम्पले त्यो १२५ प्रतिशत भन्सार दर चीन बाहेक अन्य देशहरूलाई ९० दिनसम्मको लागि स्थगन गरेका छ्न । यो कदमसँगै व्यापार युद्धले कूटनीतिक स्तरमा मात्र होइन, रणनीतिक–सैन्य सन्तुलनमा समेत असर पार्न थालेको छ ।
ट्रम्प प्रशासनको भनाइमा “चीनले निष्पक्ष व्यापारका सिद्धान्त उल्लंघन गर्दै आएको छ । बौद्धिक सम्पत्तिको चोरी, प्राविधिक हस्तान्तरणको दबाब र असमान बजार पहुँचका कारण अमेरिकाको उत्पादन र रोजगारी गुम्दै गइरहेको छ । यद्यपि आलोचकहरू भन्छन्, यो नारा केवल आन्तरिक संकटलाई बाह्य ‘सत्रु’ मार्फत मोड्ने रणनीति हो ।
चीनले भने अमेरिकाको यस कदमलाई ‘आर्थिक आक्रमण’ भन्दै प्रतिकारमा ६० अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमा प्रतिशोधस्वरूप ट्यारिफ घोषणा गरिसकेको छ । विश्व व्यापार संगठन (WTO) मा दुवै देशले एकअर्काको विरुद्ध उजुरी समेत दर्ता गराएका छन् ।
उक्त घटनाहरु केवल व्यापारिक प्रतिस्पर्धा मात्र होइनन् । विश्व सत्ताको पुनःविभाजनतर्फ संकेत गर्ने लक्षण हुन् । अमेरिका, चीन र अन्य क्षेत्रीय शक्तिहरूबीचको तनावले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अस्थिरता बढाउँदै लगेको छ । रूस, इरान, उत्तर कोरिया जस्ता देशहरूसँगको अमेरिकी तनाव र चीनसँगको आर्थिक युद्धले विश्वलाई शीतयुद्धपछिको अर्को बहुध्रुवीय टकरावमा धकेलिरहेको देखिन्छ ।
विश्व पुँजीवादको अस्थिरता, नवउदारवादी अर्थनीतिको असफलता र साम्राज्यवादीहरूको स्वार्थ सन्तुलनको टकराव अहिलेको संकटको मूल जरो हो । खासगरी उत्पादनको चरम वृद्धि र वितरणको असमानताले झनै जटिलता थपेको छ । अमेरिकी साम्राज्यवादले आफ्नो एकाधिकार जोगाउन नयाँ–नयाँ मोर्चा खोलिरहेको छ भने चीनले आफ्ना रणनीतिक हितहरू विस्तार गर्दै प्प्रतिकारको नीति लिइरहेको छ । यदि यो प्रवृत्तिको निरन्तर रह्यो भने केवल व्यापार युद्धमै सीमित नरहने, एक गम्भीर वैश्विक टकरावतर्फ विश्व धकेलिने संकेत प्रस्ट देखिन्छ ।