सर्वत्र आन्दोलन: आमूल परिवर्तनको माग कि सुधारको चाहना ?
काठमाडौं । ३१, चैत्र — देशभर आन्दोलनको डढेलो सल्किएको छ। विभिन्न वर्ग, समुदाय, क्षेत्र र पेशागत समूहहरूले आ-आफ्ना मागसहित सडक तताएका छन् । राजनीतिक असन्तुष्टि, आर्थिक अन्याय, सामाजिक विभेद, श्रम र जीविकोपार्जनका संकटहरूले आन्दोलनलाई सर्वत्र फैलाइरहेका छन् । राजधानीदेखि सुदूर गाउँसम्म आन्दोलनको लहर चलिरहेको छ ।
युवाहरू शिक्षामा अवसरको माग गर्दै सडकमा छन्, मजदुरहरू श्रमको सम्मान र न्यूनतम पारिश्रमिकको ग्यारेन्टीका लागि आन्दोलित छन् । किसानहरू मल, बीउ र बजारको न्याय खोज्दै आन्दोलनमा उत्रिएका छन् भने पेशागत संघसंस्थाहरू आफ्ना हक अधिकार सुनिश्चित गर्न संघर्षरत छन् ।
राजनीतिक दलहरूका कार्यकर्तादेखि स्वतन्त्र नागरिकसम्मको सहभागिताले आन्दोलनलाई सशक्त बनाएको देखिन्छ । आन्दोलनको स्वरूप र मागहरू फरक-फरक भए पनि एउटै प्रश्न गुञ्जिरहेको छ, के सुधारले देश बदलिन्छ, कि आमूल परिवर्तनको आवश्यकता छ?
कतिपय आन्दोलनकारीहरू वर्तमान व्यवस्था र संरचनामै सुधार गरेर अगाडि बढ्न सकिने विश्वास राख्छन् । तर, धेरैले अबको विकल्प ‘पूर्ण परिवर्तन’ मात्र रहेको स्पष्ट रूपमा बताइरहेका छन् । उनीहरूको तर्क छ, सुधारको नाममा विगतका वर्षहरू गुमाइयो अब पुरानो संरचनालाई हटाएर नयाँ प्रणाली स्थापना गर्नुपर्ने बेला आएको छ ।
राजनीतिक सत्ता तथा व्यवस्थाको असफलता, स्थायित्वको अभाव, दलीय स्वार्थ, भ्रष्टाचार र असमानताको जरो उखेल्न आमूल परिवर्तन अपरिहार्य भएको भन्दै क्रान्तिकारी धारहरू सक्रिय हुँदैछन् । उनीहरूले सुधारलाई ‘मिथ्या’ सावित गर्ने प्रयास गरिरहेका छन् ।
यसबीच राज्य संयन्त्र भने दबाबमा देखिन्छ । आन्दोलनहरूलाई सम्बोधन गर्न कतै संवाद र आश्वासन त कतै बल प्रयोगको नीति अपनाइएको छ । तर आन्दोलनहरूको ज्वारभाटालाई रोक्न सरकारी प्रयासहरू पर्याप्त देखिएका छैनन् ।
देशको वर्तमान परिस्थिति ऐतिहासिक मोडमा उभिएको आभास दिइरहेको छ । आन्दोलनहरू के मात्र सुधारका लागि सीमित हुनेछन्, या अब आमूल परिवर्तनको ढोका खोल्नेछन् — निकट भविष्यको राजनीति यही प्रश्नले निर्धारण गर्नेछ ।