सानो सुरुवात, ठूलो सफलता: च्याउखेतीबाट आत्मनिर्भर बनिन् कैलालीकी ममता

0 5

कैलाली । ३१,चैत्र — ‘मेहनत गरे के हुन्न र!’ यही भावनासहित च्याउखेतीमा लागेकी कैलाली जानकी गाउँपालिका–५ अमौरा निवासी २६ वर्षीया ममता चौधरी अहिले आत्मनिर्भर बन्न सफल भएकी छिन् । सानो स्केलमा सुरु गरेको च्याउखेतीबाट उनले हाल वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गरेको बताएकी छन् ।

ममताले आफ्नो च्याउखेतीको यात्रा जम्मा १० पाकेटबाट सुरु गरेकी थिइन् । निरन्तर परिश्रम र लगनशीलताले अहिले त्यो संख्या बढेर १५ सय पाकेटसम्म पुगेको छ । उनले उत्पादन गरिरहेको च्याउ टिकापुर, लम्की र बलिया बजारसम्म सहजै बिक्री हुने बताइन् ।

‘सुरुमा सानो लगानीमै काम थालेकी थिएँ । अहिले भने आम्दानी पनि राम्रो छ र पढाइ खर्च पनि यही आम्दानीबाट व्यवस्थापन गर्दै आएको छु,’ ममताले भनिन् । च्याउखेतीबाट प्राप्त आम्दानीले उनले आफ्नो स्नातक तहको अध्ययन पनि सहजै व्यवस्थापन गरेकी छन् ।

स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्ने उनको प्रयास गाउँका युवायुवतीका लागि प्रेरणाको स्रोत बनेको छ । उनी भविष्यमा च्याउखेतीलाई अझ व्यवसायिक बनाउँदै अन्य युवाहरुलाई पनि तालिम दिने लक्ष्यमा छन् ।

सरल तर प्रभावशाली यो यात्रा न केवल ममताको व्यक्तिगत सफलताको कथा होइन, यो त स्थानीय स्तरमा रोजगारी सिर्जना र आत्मनिर्भरताको मार्गचित्र पनि हो । यसबाट बेरोजगार युवाहरुले प्रेरणाको रूपमा लिनुपर्छ ।

सम्बन्धित
Loading...