खानेपानी संस्थानमा लाखौंको अनियमितता : विकास प्रेमी युवा समूहको गम्भीर ध्यानाकर्षण

0 57

५ वैशाख, बर्दिया । भुरिगाउँस्थित खानेपानी संस्थानमा लाखौं रुपैयाँ बराबरको आर्थिक हिनामिना, अपचलन र भ्रष्टाचार भएको खुलासा भएपछि विकास प्रेमी युवा समूह बर्दियाले गम्भीर आपत्ति जनाउँदै सार्वजनिक सरोकारका निकायहरूको ध्यानाकर्षण गराएको छ ।

समूहका महासचिव विशाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- “संस्थाको आर्थिक पारदर्शिता र जवाफदेहिता नहुनु सेवाग्राहीको विश्वासमाथि कुठाराघात हो । यस्ता सार्वजनिक संस्थामा भ्रष्ट अभ्यासको गन्ध मात्र होइन, स्पष्ट प्रमाणहरू हुन् ।”

विज्ञप्तिअनुसार खानेपानी जस्तो अत्यावश्यक सेवाको क्षेत्रमा क्रियाशील संस्थामा देखिएको चरम आर्थिक अनुशासनहीनता, सामाजिक उत्तरदायित्वको उपेक्षा र नागरिक सेवा प्रवाहमा देखिएको लापरवाहीले गम्भीर संकट निम्त्याएको छ । समूहले यसलाई केवल आर्थिक अनियमितता नभई नागरिक अधिकारमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ ।

विकास प्रेमी युवा समूहले सार्वजनिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, बर्दिया जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सरोकारवाला निकायहरूलाई यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न आग्रह गरेको छ ।

समूहले विज्ञप्तिमार्फत सम्पूर्ण सचेत नागरिकहरूलाई पनि यस्तो भ्रष्ट अभ्यासविरुद्ध चुप नबस्न र सशक्त आवाज उठाउन अपिल गरेको छ । “हामी सबैको साझा जिम्मेवारी हो- भ्रष्टाचारविरुद्ध दृढ रहनु र सार्वजनिक संस्थालाई जनमुखी बनाउनु” विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
Loading...