गृहजिल्लामै विरोधको चपेटामा नेता योगेश भट्टराई, भीडको दबाबमा शौचालयमै थुन्ने प्रयास
६ वैशाख, ताप्लेजुङ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री प्रतिनिधिसभाका सांसद माननीय योगेश भट्टराईलाई एक सार्वजनिक कार्यक्रममा अतिथि बोलाएर सुनियोजित ढंगले विरोध जनाइएको घटनाले जिल्लाभर चासोको विषय बनेको छ । उक्त कार्यक्रममा अराजक शैलीमा अभद्र व्यवहार गर्दै उहाँमाथि आक्रमणको प्रयाससमेत भएको जनाइएको छ ।
स्थानीय स्रोतका अनुसार कार्यक्रमलाई अव्यवस्थित बनाउँदै केही व्यक्तिहरूले सांसद भट्टराईमाथि आक्रोश पोख्ने नाममा मर्यादाविहीन व्यवहार गरेका थिए । यसरी आमन्त्रित अतिथिमाथि सार्वजनिक रुपमा यस्तो व्यवधान सिर्जना गर्नु न केवल ताप्लेजुङका जनताको अपमान भएको भन्दै विभिन्न पक्षबाट तीव्र विरोध जनाइएको छ । तर यसले कानूनलाई जनस्तरबाट अस्वीकार गरेको देखिन्छ । साथै, यो संसदीय पार्टी र नेताहरुप्रतिको जनता आएको वितृष्णाको परिणाम पनि हुन सक्छ ।
यस घटनाले लोकतान्त्रिक अभ्यास र अभिव्यक्तिको स्वतन्त्रताको गफ गर्ने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएको छ । यसरी उक्त कार्यक्रममा सांसद भट्टराई स्वयंले घटनाको निन्दा गर्दै सबैलाई संयमित र लोकतान्त्रिक आचरणमा रहने आह्वान गर्नुभएको छ ।
सुरक्षा निकाय र प्रशासनले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाइएको छ । दोषी पहिचान भएलगत्तै आवश्यक कानूनी प्रक्रिया अघि बढाइने आश्वासन दिइएको छ ।