गृह मन्त्रालयद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति कडा आपत्ति, संविधान विपरीतको गतिविधि नगर्न चेतावनी
६ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नामबाट सार्वजनिक रूपमा भएको एक कार्यक्रमप्रति गृह मन्त्रालयले कडा आपत्ति जनाएको छ । बैशाख ५ गते सार्वजनिक रूपमा गरिएको ‘कानून कार्यान्वयन समितिको निर्णय’ नामक कार्यक्रममा व्यक्त विचार तथा अभिव्यक्तिले संविधान र कानुनको ठाडो उल्लंघन भएको भन्दै मन्त्रालयले आपत्ति जनाएको हो ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, समाजमा अत्यन्तै गलत सन्देश फैलाउने खालका अभिव्यक्तिहरू संविधानविपरीत छन् र यस्ता गतिविधि सह्य नहुने स्पष्ट गरिन्छ । यसरी मन्त्रालयले संविधान र कानुनको उल्लंघन हुने तथा समाजमा हिंसा र द्वन्द्व फैलाउने अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा थप भनिएको छ- समाजमा असहिष्णुता, उत्तेजना र राष्ट्रविरोधी विचारधाराको संवाहक हुने किसिमका गतिविधि कानुन विपरीत हुने भएकाले त्यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिइन्छ ।
गृह मन्त्रालयले यस्ता अभिव्यक्तिबाट उत्पन्न हुनसक्ने अस्थिरता र हिंसात्मक घटनालाई रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने संकेत पनि दिएको छ । उक्त विज्ञप्तिमा मन्त्रालयका सहसचिव (प्रवक्ता)रामचन्द्र तिवारीको हस्ताक्षर गरिएको छ ।