एक वर्षमा प्रेस स्वतन्त्रतामाथि ६४ घटना : प्रेस काउन्सिल नेपाल

0 5

११ वैशाख, काठमाडौं । प्रेस काउन्सिल नेपालले गत वर्ष अर्थात् २०८१ वैशाख १ देखि चैतमसान्तसम्मको अवधिमा मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि भएका प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएको जनाएको छ ।

काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रेसमाथि धरपकड, दुर्व्यवहार, धम्की लगायतका घटनाहरू अत्यधिक देखिएका छन् ।” जसमध्ये एक जना पत्रकारको हत्या र दुई जनाको गम्भीर चोटपटकसहित मृत्यु भएको उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै घटना वाग्मती प्रदेशमा २६ वटा भएको र अन्य प्रदेशहरूमा क्रमशः मधेस १६, कोशी १०, सुदूरपश्चिम ५, कर्णाली ३, गण्डकी २ र लुम्बिनीमा २ घटना भएको उल्लेख गरिएको छ ।

प्रेस स्वतन्त्रता हननका घटनाहरूमा मुख्यतया हत्या, गिरफ्तारी, कुटपिट, आक्रमण, धम्की, दुर्व्यवहार, समाचार रोकथाम तथा विज्ञापन रोकिने जस्ता कार्यहरू भएका छन् । यस एक वर्षको अवधिमा ५६ जना पुरुष र ८ जना महिला पत्रकार प्रभावित भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रताको अनुगमन तथा मिडिया प्रवर्द्धन महाशाखा अन्तर्गत रहेका संयन्त्रहरूद्वारा संकलित यस्ता घटनाहरू कानुन विपरीत क्रियाकलापमाथि सचेतना फैलाउने उद्देश्यले प्रकाशित गरिएको हो ।”

प्रेस काउन्सिलले पत्रकारहरूलाई स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताका लागि आग्रह गर्दै पत्रकारमाथिको दमन र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित
Loading...