विल गेट्सको चेतावनी : एआईले १० वर्षभित्र डाक्टर र शिक्षकको भूमिका फेरिने
१४ वैशाख, अन्तर्राष्ट्रिय । प्रविधि क्षेत्रमा प्रभावशाली हस्तीका रूपमा चिनिएका विल गेट्सले आगामी दशकभित्र कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को तीव्र विकासले डाक्टर र शिक्षकजस्ता पेशाहरूमा गहिरो परिवर्तन ल्याउने चेतावनी दिएका छन् ।
हालै एक प्रविधि सम्मेलनमा बोल्दै गेट्सले भने, “एआईको क्षमताले अब केवल मेशिनहरूलाई होइन, मानव समाजकै संरचनालाई पुनः परिभाषित गर्दैछ । उनका अनुसार स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा जहाँ परम्परागत रूपमा मानवीय अन्तर्सम्बन्ध मुख्य मानिन्थ्यो, एआई प्रविधिले नविन तरिकाले प्रवेश गरिरहेको छ ।
गेट्सले उदाहरण दिँदै भने कि प्रारम्भिक रोग निदान उपचार सल्लाह र व्यक्तिको स्वास्थ्य निगरानी जस्ता कार्यहरूमा एआईले उल्लेखनीय दक्षता देखाएको छ । उता शिक्षामा व्यक्तिगत अध्ययन योजना, अनलाइन शिक्षण प्रणाली र मूल्याङ्कन प्रक्रियामा एआईको प्रयोग तीव्र हुँदै गएको छ ।
तर गेट्सले एआईको प्रयोगलाई नकारात्मक रूपमा मात्र प्रस्तुत गरेनन् । उनले भने, “हामीले एआईलाई सहयोगीको रूपमा हेर्नुपर्छ । यो डाक्टर र शिक्षकहरूलाई विस्थापित गर्ने यन्त्र मात्र होइन, सही प्रयोग गर्न सकेको खण्डमा उनीहरूलाई अझ सक्षम बनाउने माध्यम हुन सक्छ ।”
विशेषज्ञहरूका अनुसार एआईको विकासले स्वास्थ्य सेवा र शिक्षा प्रणालीलाई सस्तो, सुलभ र प्रभावकारी बनाउन सक्नेछ । तर, यदि उचित नीति निर्माण र मानव केन्द्रित दृष्टिकोण अवलम्बन नगरिएमा यसले पेशागत असमानता र बेरोजगारी जस्ता गम्भीर समस्या पनि निम्त्याउन सक्छ ।
गेट्सको भनाइले प्रविधिको तीव्र विकाससँगै मानव समाजले गर्ने तयारी र एआईको प्रयोग ठिक ढंगले गर्नुपर्ने देखिन्छ । यो मानव नियन्त्रित हो । यसको आवश्यकता अनुसार प्रयोग गर्नुले मानिसको साध्य प्राप्त गर्ने साध्य बन्न सक्छ ।