ठाकुरबाबा नगरपालिकामा ‘भात काण्ड’: बिना प्रयोजन ७ लाखको खानपिन खर्च

0 1

२ जेठ, बर्दिया । ठाकुरबाबा नगरपालिका फेरि एक पटक आलोचनाको घेरामा छ—यसपटक ‘भात–काण्ड’ को कारण महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार ठाकुरबाबा नगरपालिकाले एक वर्षको अवधिमा विभिन्न मितिहरूमा होटलहरूमा गरी करिब ६ लाख ९५ हजार ९ सय ९५ रुपैयाँ बराबरको खानपिन खर्च गरेको देखिएको छ ।

तर सबभन्दा हैरान पार्ने पक्ष के हो भने—यस खर्चको उद्देश्य के हो? त्यति महङ्गो खाना कसले खायो? र किन खायो ? भन्ने विषयमा कुनै रेकर्ड छैन । होटलमा राजसी भोज, तर न त विवरण छ न त जवाफदेही !

२०७९ असोज ९ गते कासा कटेज एण्ड लज लाई मात्रै २ लाख ७२ हजार ५ सय ५६ रुपैयाँ भुक्तानी गरिएको छ। त्यसको तीन दिनपछि, असोज १२ मा, न्यु वालिङ होटल लाई १ लाख ७१ हजार ३ सय ६५ रुपैयाँ तिरिएको छ। पुनः माघ २४ गते, कासा कटेज एण्ड लज लाई नै फेरि २ लाख ५२ हजार ७४ रुपैयाँ दिइएको छ । तर, यी सबै खर्चहरू “खाजा तथा खानाको लागि” भनेर उल्लेख गरिए पनि, कसका लागि, कुन कार्यक्रममा कति जनाले खाए भन्ने प्रस्ट विवरण भने शून्य छ ।

ऐनको उल्लंघन—जनताको कर यत्तिकै फालफाल किन गरियो ? विश्वव्यापी आर्थिक संकट छ । तर हाम्रो देशमा भने आर्थिक अनियमितताले सीमा नाघेको छ । यसरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ अनुसार, सार्वजनिक रकमको खर्च गर्दा साधन–स्रोतको उच्चतम प्रतिफल र मितव्ययिता अनिवार्य मानिन्छ । तर, ठाकुरबाबा नगरपालिकाको व्यवहार ऐन विपरीत देखिएको छ ।

महालेखाले यसलाई “प्रयोजन नखुलेको खर्च” भनेर उल्लेख गरेको छ, जसले गम्भीर अनियमितता र भ्रष्टाचारको संकेत गर्छ । ठाकुरबाबा नगरपालिकामा सार्वजनिक कोषको प्रयोग बिना पारदर्शिता र जवाफदेहीताका साथ भएको देखिन्छ । करिब ७ लाख रुपैयाँको भात कसले खायो भन्ने प्रश्न नगरवासीका लागि मात्र होइन, सार्वजनिक क्षेत्रको जवाफदेही व्यवस्थामाथिको गम्भीर प्रश्न पनि बनेको छ ।

सम्बन्धित
Loading...