आज अखिल (क्रान्तिकारी) ले शिक्षा माफियाविरुद्ध गर्‍यो जनकारबाही : सीटीईभीटीका सहायक निर्देशकमाथि कालोमोसो

0 0
Oplus_0

२० जेठ, काठमाडौं । अखिल क्रान्तिकारीद्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) भित्र फैलिएको भनिएको शैक्षिक माफिया सञ्जालविरुद्ध निरन्तर जनसङ्घर्षका क्रममा सहायक निर्देशक गोविन्द पौडेलमाथि कालोमोसो दलेर कारबाही गरिएको छ । यसरी आइतबार अखिल (क्रान्तिकारी) ले राजधानीमा सार्वजनिक रूपमा पौडेलमाथि जनकारबाही गर्दै उनीमाथि गम्भीर भ्रष्टाचार र नक्कली प्रमाणपत्र बिक्रीको आरोप लगाएको छ ।

संगठनले मधेश प्रदेश समितिको अगुवाइमा गरिएको कारबाहीका क्रममा निम्न आरोपसहित पौडेलमाथि उठाइएको आरोपको विवरण सार्वजनिक गरेको छ ।
आरोपहरू यस प्रकार छन्- परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा कार्यरत रहँदा फेल भएका विद्यार्थीलाई अवैध रूपमा उत्तीर्ण गराउनु, नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक कारोबार गर्नु र प्रमाणपत्र वितरण प्रक्रियामा गम्भीर घूस प्रकरणमा संलग्न रहेको बताएको छ ।

अखिल (क्रान्तिकारी) ले पौडेलमाथिको कारबाहीलाई सीटीईभीटी शुद्धिकरण अभियानको निरन्तर शृङ्खला भनेको छ । यसअघि सोही संगठनले परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीमाथि पनि कार्यकक्षमै कालोमोसो दल्दै जनकारबाही गरेको थियो ।

संगठनले पौडेललाई तत्काल निलम्बन गर्न र दोषअनुसार कानुनी कारबाही गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ । साथसाथै चेतावनी दिँदै भनेको छ- यदि ढाकछोप गरियो वा दोषीलाई संरक्षण दिइयो भने संगठन अझ कठोर जनकारबाहीका उपायहरू अवलम्बन गर्न बाध्य हुने बताइएको छ ।

भ्रष्टाचार, दलाली र अनियमितताको विरुद्ध हाम्रो संघर्ष कुनै क्षणिक आवेग होइन संगठनले भनेको छ, यो एउटा जनउत्तरदायी आन्दोलन हो । जसले सीटीईभीटीलाई सफा गर्ने अठोट लिएको छ । सीटीईभीटी भित्रको अपारदर्शी संरचना र घूस–सञ्जाललाई चुनौती दिने यो कारबाही नेपाल प्राविधिक शिक्षाको शुद्धीकरणतर्फको एउटा सशक्त जनसंकेत हो ।

 

सम्बन्धित
Loading...