इरानका सर्वोच्च नेताको चेतावनी : “अमेरिकासँग आत्मसमर्पण कहिल्यै हुँदैन”

0 6
Oplus_0

४ असार, तेहरान  । विश्वराजनीतिमा तनावको नयाँ तरंग थपिएको छ । जब इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिनाशर्त आत्मसमर्पणको मागलाई स्पष्ट अस्वीकार गर्दै अमेरिका र इजरायलविरुद्ध कडा चेतावनी दिएका छन् ।

तेहरानमा सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएको लिखित सम्बोधनमा खामेनीले भने-“यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्ने छैन । यसरी ट्रम्पको माग अस्वीकार्य छ । हामी अन्यायसँग सम्झौता गर्दैनौं ।”

खामेनीको यो कडा प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा इरानी नेताको ठेगाना थाहा भएको र आवश्यक परे हत्या गर्न सकिने चेतावनी दिएका केही घण्टापछि आएको हो । ट्रम्पले इरानलाई तुरुन्त आत्मसमर्पण गर्न पनि आग्रह गरेका थिए ।

यसबीच, इजरायलले हालै सञ्चालन गरेको भीषण बमबारीपछि इरानले मिसाइल र ड्रोनमार्फत जवाफी कारबाही थालिसकेको छ । अन्तर्राष्ट्रिय आणविक निगरानी निकाय IAEA का अनुसार इजरायली आक्रमणमा तेहरान नजिकै रहेको इरानको आणविक कार्यक्रमसम्बन्धी दुई महत्वपूर्ण भवन ध्वस्त भएका छन् । यी घटनाक्रमहरूबीच खामेनीले अमेरिकालाई चेतावनी दिँदै भने-“सैन्य हस्तक्षेपको मूल्य अपूरणीय हुन्छ, अमेरिका सजग होस् ।” उनले इजरायली नेताहरूप्रति पनि कुनै दया नदेखाउने दृढता दोहोर्‍याएका छन् ।

सन् १९८९ देखि सत्ता सम्हालिरहेका खामेनी इरानको सबैभन्दा शक्तिशाली नेता मानिन्छन् । जसले सबै रणनीतिक निर्णयहरूमा अन्तिम शब्द दिन्छन् । यसबीच खाडी क्षेत्र फेरि युद्धको चिसो चक्रमा फस्ने संकेत देखिन थालेको छ । विश्लेषकहरूका अनुसार यदि अमेरिका वा इजरायलले थप आक्रामकता देखाए, यसले व्यापक क्षेत्रीय द्वन्द्वको रूप लिन सक्छ ।

इरानले आफ्नो सार्वभौमिकता र आत्मसम्मानका लागि अन्तिमसम्म लड्ने सन्देश दिएको छ भने अमेरिका र इजरायलले इरानलाई खतरनाक राष्ट्रको रूपमा चित्रण गर्न खोजिरहेका छन् । यसबीच अन्तर्राष्ट्रिय समुदाय भने दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेको छ ।

सम्बन्धित
Loading...