साम्राज्यवादको चीरहरण : इरानमाथिको अमेरिकी आक्रमण, प्रत्यक्ष साम्राज्य विस्तारको संकेत

0 7
Oplus_0

८ असार, काठमाडौं । इरानमाथि अमेरिकी आक्रमण केवल सैनिक हस्तक्षेप मात्र होइन, यो प्रत्यक्ष उपनिवेशको साम्राज्यवादी नग्नता, बर्बरता र निकृष्टताको द्याेतक हो । जसले फासीवादी बर्बरताको चरम सीमा देखाएको छ । इजरायल र इरानबीचको तनावलाई आधार बनाएर अमेरिका पुनः एकपटक “विश्व प्रहरी” को भूमिकामा उत्रिएको छ । यो त्यतिमात्र होइन, मानव सभ्यताकै विरुद्ध र बलात्कारी साम्राज्यको ऐलानी घोषणा हो ।

अमेरिकाको हवाई हमलाद्वारा इरानको फोर्दो नतान्ज र एस्फाहानमा आक्रमण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घमण्डका साथ घोषणा गरे कि “इरानका परमाणु केन्द्रहरूमा बमको वर्षा गरिएको छ ।” उनका अनुसार फोर्दो नतान्ज र एस्फाहानका वैज्ञानिक केन्द्रहरूमा अमेरिकी युद्धविमानले आक्रमण गरेपछि सबै विमान “सुरक्षित रूपमा अमेरिका फर्केका” छन् । उनले सेनालाई बधाई दिँदै विश्वको ‘सर्वश्रेष्ठ’ सेना अमेरिकासँग मात्र भएको घोषणा गरे ।

इजरायलले जुन १३ देखि इरानमाथि आक्रमण थालिसकेको थियो । हालसम्म १० जना इरानी परमाणु वैज्ञानिकको लक्षित हत्या, सेना कमाण्डरहरूको निष्कासन र सर्वसाधारणमाथिको निरन्तर बम वर्षाले मानवीय संकटले स्थिति निम्त्याएको छ । यसले भयावह बनाएको इरानमाथिको अमेरिकी आक्रमणले थप पुष्टि गर्‍यो कि अमेरिकी डिजाइनमा नै युद्ध सुरु भएको बुझिन्छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४३० नागरिक मारिएका छन् भने ३ हजार ५ सयभन्दा बढी घाइते छन् । यता, अमेरिकास्थित मानव अधिकार संस्थाहरूले यो सङ्ख्या अझै भयावह रहेको र ६५७ जनाको मृत्यु पुष्टि गरेका छन् ।

इरानले पनि जवाफी कारवाही गरेको दाबी गरिएको छ । तर इजरायली पक्षमा हालसम्म २४ जनाको मृत्यु मात्र भएको भन्ने छ । यो तथाकथित युद्धले एकतर्फी सैन्य अतिक्रमण गरेको छ । जहाँ कुटनैतिक र सामरिक सन्तुलनको स्थितिबाट समस्या समाधान गर्न तयार नभई शक्ति प्रदर्शनको नाङ्गो नाच भइरहेको छ । एकातिर इरानको विज्ञान, जनजीवन र सार्वभौमिकताको विनाश, अर्कोतिर ट्रम्पको खोक्रो घोषणाले अब विश्व कतातिर जादै छ भन्ने कुराको प्रष्ट संकेत हो । अमेरिकी साम्राज्यवादको एकातिर शान्ति मन्त्र जप्ने र अर्कोतिर लाशहरूको थुप्रोमाथि साम्राज्य विस्तार गर्ने रणनीति पुरानै हो ।

यो हमला केवल इरानमाथिको मात्र होइन, सम्पूर्ण विश्वका स्वतन्त्र राष्ट्रहरूका आत्मनिर्णय, वैज्ञानिक अनुसन्धान र सार्वभौमिक अधिकारमाथिको आक्रमण हो । साम्राज्यवाद अब परोक्ष होइन, प्रत्यक्ष र बेलगाम रूपमा विश्व वर्चस्वको अभियानमा उत्रिएको छ ।

प्रश्न अब पनि बाँकी छ कि विरोध कहिले ? प्रतिरोध कहाँ ? कसले प्रतिरोध गर्ने? यसप्रकारका सवालहरुको जवाफ दिनुपर्ने बेला आएको विश्लेषकहरु बताउँछन् । किनभने अमेरिकाको यो कदम केवल आक्रमण मात्र नभई प्रत्यक्ष साम्राज्यवादको एक चक्रव्यूह हो । जसबाट निस्किने बाटो भनेको विश्वका स्वाधीन, स्वतन्त्र र साम्राज्यवादको निशानामा रहेका राष्ट्रहरुको साम्राज्यवाद विरुद्ध ऐक्यबद्धतासहित स्वाधीनता र स्वतन्त्रताका लागि प्रतिरोधको घोषण गर्ने बेला हो ।

Oplus_0
सम्बन्धित
Loading...