प्रचण्डको असहमतिको कारण वामपन्थीको अमेरिका विरोधी प्रदर्शन स्थगित, कार्यकर्तामाझ असन्तोष

0 2
Oplus_0

असार ८, काठमाडौं । वामपन्थी दलहरूबीच अमेरिकाविरोधी प्रदर्शनको तयारी तीव्र भइरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को असहमतिको कारण राजधानीमा निकाल्ने भनिएको संयुक्त जुलुस अन्तिम समयमा स्थगित भएको छ ।

गत दिन वामपन्थी आठ पार्टीको बैठकले यही असार ११ गते माइतीघर मण्डलामा अमेरिकाको साम्राज्यवादी हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर, माओवादी केन्द्रका महासचिव देव गुरुङले उक्त निर्णयबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउँदा उनले खुला असहमति जनाएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार, प्रचण्डले “अहिले प्रदर्शन गर्नु उपयुक्त हुँदैन, गोष्ठी मात्र गरौं” भन्दै प्रत्यक्ष सडक प्रदर्शनको पक्षमा नदेखिएको स्पष्ट पारेका थिए । प्रचण्डको असहमतिको कारण संयुक्त वक्तव्यबाट प्रदर्शनसम्बन्धी अंश हटाइएको र केवल गोष्ठी गर्ने निर्णयमा सीमित गरिएको स्रोतको भनाइ छ ।

तर, प्रचण्डको यस्तो निर्णयले आठ वामपन्थी दलका नेताहरू र कार्यकर्तामाझ तीव्र असन्तोष चुलिएको छ । एक नेताले भने, “सबै नेता कार्यकर्ता आक्रोशित छन् । वामपन्थीहरूबीच गहिरो मतभेद देखिएको छ। अब तय गरिएको गोष्ठीमा नै कति सहभागी हुन्छन्, निश्चित छैन ।”

यसबारे माओवादी केन्द्रले औपचारिक धारणा नदिए पनि प्रचण्डको पछिल्लो निर्णयलाई केहीले अमेरिकासँगको कूटनीतिक सन्तुलन कायम राख्न खोजेको संकेतको रूपमा हेरेका छन् भने अन्य वामपन्थी घटकहरूले यसलाई ‘समझौतावादी प्रवृत्ति’ भन्दै आलोचना गरिरहेका छन् ।

अब वामपन्थी गठबन्धनको एकताको भविष्य र असार ११ गतेको कार्यक्रमको स्वरूप के हुने हो भन्नेमा अन्योल उत्पन्न भएको छ ।

 

सम्बन्धित
Loading...