चार्ट पसलबाट जीवन धान्दै गुलरियाका घनश्याम गोडिया : १७ वर्षको संघर्षले आत्मनिर्भरता

0 1
Oplus_34

११ असार, बर्दिया । मानिसहरु जीवनमा धेरैले ठूला सपना देख्छन्, तर संघर्ष गर्न पछि हट्छन् । तर गुलरिया नगरपालिका-६ शिवशंकर टोलका घनश्याम गोडिया भने त्यसको अपवाद हुन् । आफ्नै मेहनत र पसिनाको बलमा उनले चार्ट पसलबाट न केवल परिवार चलाइरहेका छन्, । साथै, आत्मनिर्भर जीवनशैलीको उदाहरण बनेका छन् ।

गुलरिया बर्दिया अस्पताल नजिकै उनको सानो नास्ता पसल छ । चार्टदेखि विभिन्न परिकार बिक्री गर्छन् । उनले बनाउने चार्ट स्वादिलो मात्र होइन, एकपटक खाएपछि फेरि-फेरि खाने इच्छा हुने ग्राहकहरू बताउँछन् । त्यसैले स्थानीयस्तरमै उनको चार्टको लोकप्रियता फैलिएको छ ।

तर यहाँसम्म आइपुग्न घनश्यामले सजिलो यात्रा गरेका भने छैनन् । सुरुमा खलासीको जागिरबाट श्रमजीवन थालेका उनले ड्राइभरसम्मको यात्रा गरेका थिए । तर परिस्थिति बदलियो, उनले गाडीको स्टेरिङ छाडे र नास्ता पसल समाए । “सुरुमा साह्रै गाह्रो भयो,” घनश्याम भन्छन्, “तर धैर्य गरेँ, पसल चलाइरहेँ । आज मेरो परिवार यसैको भरमा चल्छ ।”

हप्ताको मंगलबार र शनिबार गुलरियाको हाटबजारमा समेत उनी चार्ट बिक्री गर्छन् । करिब १७ वर्षदेखि निरन्तर पसल सञ्चालन गरिरहेका उनले आफ्ना तीन जना छोराछोरीको शिक्षा खर्चदेखि परिवारको सम्पूर्ण व्यवस्थापन यही व्यवसायबाट सम्भालिरहेका छन् ।

नास्ता पसलकै आम्दानीले गुलरियामा घडेरीसमेत किन्ने अवसर पाएँ- उनले खुसी व्यक्त गरे । यसरी कठोर परिश्रमले मान्छेलाई आत्मनिर्भर बनाउँछ भन्ने विश्वास गरेको छु । स्थानीयले घनश्यामलाई कर्मशील उद्यमीको रुपमा चिन्ने गर्छन् । सस्तो र स्वादिलो चार्टकै कारण उनको पसल ग्राहकले भरिपूर्ण हुन्छ । स्वदेशमै श्रम गरेर आत्मनिर्भर बन्ने सपना देख्नेहरूका लागि घनश्याम गोडिया एक प्रेरणादायी पात्र हुन् ।

सम्बन्धित
Loading...