पतञ्जलि जग्गा प्रकरणका आरोपित पूर्वप्रधानमन्त्री माधव कुरा नेपाललाई पैतिस लाख धरौटीमा रिहा गर्न आदेश
११असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाेड्न आदेश दिएको छ ।पतञ्जलि योगपीठको हदबन्दी क्षेत्रको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन् । विशेष अदालतको बुधबार बसेको इजलासले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट जारी आदेश अनुसार नेपाललाई ३५ लाख धरौटी बुझाएर रिहा गरिने निर्णय भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
बुधबार विशेष अदालतमा थुनछेक बहसका क्रममा पूर्वप्रधानमन्त्री नेपाल स्वयं अदालतमा उपस्थित भएका थिए । अपराह्नदेखि उनको बयान लिइएपछि दुवै पक्षका वकिलहरूबीच घन्टौं बहस भएको थियो । नेपाल पक्षबाट पाँच र सरकारी वकिलतर्फबाट पाँच जनाले बहस गरेका थिए ।
पतञ्जलि योगपीठसँग सम्बन्धित हदबन्दी क्षेत्रको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक हिनामिनामा संलग्नता रहेको दाबी गरिएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष हुन् । लामो समयदेखि सार्वजनिक सेवा र राजनीतिमा सक्रिय नेपालमाथि यस्ता गम्भीर आरोप लाग्नु र अदालतमा पेश हुनुपर्ने स्थिति आउनुले देशको राजनीतिमा नयाँ बहसको वातावरण सिर्जना भएको छ ।
पछिल्लो समय पतञ्जलि योगपीठले बारा जिल्लामा खरिद गरेको हदबन्दी क्षेत्रको जग्गासम्बन्धी अनियमितता प्रकरण सार्वजनिक भएपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । अनुसन्धानकै आधारमा पूर्वप्रधानमन्त्री नेपालसहित विभिन्न सरकारी अधिकारी, कर्मचारी, व्यवसायी र अन्य सरोकारवालाविरुद्ध मुद्दा दायर गरिएको हो ।
विशेष अदालतको आदेशपछि नेपाललाई अस्थायी राहत मिलेको छ । तर, मुद्दा टुंगोमा नपुगेकाले आगामी दिनमा थप कानुनी प्रक्रिया जारी रहनेछ ।यसरी अदालतले अन्य अभियुक्तहरूमाथि पनि क्रमशः सुनुवाइ गर्दै जाने तयारी गरेको छ ।