व्यक्तिगत सफलता होइन, समाजको रुपान्तरण नै मेरो जीवनको ध्येय’- दिवश राई Rever Queen’s School का सञ्चालक
१५ असार, बर्दिया । पैसाको पछि होइन, शिक्षामार्फत समाज रूपान्तरणको सपना बोकेर ३५ वर्षअघि शुरु गरिएको यात्रामा आज दिवश राई गर्व गर्छन् । Rever Queen’s School का सञ्चालक राई भन्छन्- “व्यक्तिगत रूपमा म धेरै सम्पन्न नहुन सक्छु, तर समाजले देखेको परिवर्तन मेरो जीवनकै सबैभन्दा ठूलो सफलता हो ।”
राईको शिक्षासँगको यात्रा केवल विद्यालय सञ्चालनमा सीमित छैन । उनी शिक्षालाई सामाजिक चेतना, न्याय र समावेशी विकासको मूल अस्त्र ठान्छन् । उनको भनाइमा, “मेरो सेवा कुनै व्यक्तिगत महत्त्वाकांक्षा वा व्यवसायिक लाभ होइन, यो सामाजिक रुपान्तरण र समुन्नतिको अभियान हो ।”
दिवश राई तीन दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा समर्पित राईको स्पष्ट दृष्टिकोण छ- प्रथमतः शिक्षा परिवर्तनको आधार हो । द्वितीय, समाज परिवर्तनको मूल चाबी शिक्षामै छ । तृतीय, साँचो विकास भनेकै चेतना विस्तार र समान अवसरको सुनिश्चितता हो ।
उनले विद्यालयमार्फत ग्रामीण क्षेत्रका बालबालिकादेखि किशोरकिशोरीसम्मको गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्दै आएका छन् । आर्थिक, सामाजिक वा भौगोलिक कारणले पछाडि परेका विद्यार्थीलाई शिक्षा प्रणालीसँग जोड्ने अभियानमा उनी निरन्तर छन् ।
राई भन्छन्- “जसरी जमिनमा रोपिएको बीउले तत्काल फल दिँदैन, त्यसरी नै समाजको रुपान्तरण पनि समय र निरन्तर संघर्ष माग्छ ।” उनका अनुसार शिक्षाले समाजको अनुहार बदल्न सक्छ, मानिसको सोच बदल्न सक्छ र वर्गीय, सामाजिक र क्षेत्रीय विभाजन मेटाउन सक्छ । उनी गर्वसाथ भन्छन्- “पैसाको हिसाबले म सम्पन्न नदेखिन सक्छु । तर शिक्षाबाट समाजका अनुहार बदलिएका छन् । यही मेरो साँचो उपलब्धि हो ।
राईले शिक्षालाई व्यवसाय होइन, समाजसेवा र परिवर्तनको माध्यम बनाएका छन् । यसरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको भलोको निम्ति समर्पित उनको यात्रा आजको शिक्षाविद्हरू, युवाहरू र शैक्षिक क्षेत्रमा लाग्न चाहनेहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।