जीवन र मृत्युको दोबाटोमा गोविन्दराज बिक : आठ वर्षदेखि मृगौला पीडित, जीवन बचाउने संघर्ष अब परायाको दया र आशामा

0 4

१६ असार, सुर्खेत । सुर्खेत जिल्लाको बहराताल गाउँपालिका–५ का स्थायी बासिन्दा ४५ वर्षीय गोविन्दराज बिक अहिले जीवन र मृत्युको दोबाटोमा छन् । विगत आठ वर्षदेखि दुवै मृगौला फेल भएका कारण उनले ज्यान बचाउन दैनिक संघर्ष गरिरहे पनि हाल उनी अस्पतालको शैयामा शरीर चलाउन समेत असहाय बनेका छन् ।

दैनिक डायलासिस, महँगो उपचार, औषधि खर्च, आवतजावतदेखि लिएर खानपानसम्मको व्यवस्थापन निकै कठिन छ । यसरी शुरुका दिनमा आफूले जति सकिन्छ त्यति खर्च गरे, घरको थोरबहुत गहना बेचियो, थोरै बाँकी जग्गा समेत रोगकै उपचारमा खेर गयो । तर, उपचारको अन्त्य कहिल्यै नदेखिएपछि अहिले उनी न आर्थिक रूपमा सक्षम छन्, न त शारीरिक रूपमा नै ।

गोविन्दराज बिकले भन्छन्-“जिउँदै मर्छु कि भन्ने डरले दिन बित्छ । शरीरको पीडा त आफ्नो ठाउँमा छ नै, तर आँखा अगाडि परिवारको भविष्य डुब्दै गएको हेर्नुपर्दा मन झन् भारी हुन्छ ।”

सुरुमा आफन्त, छरछिमेक, साथीभाइले सक्दो सहयोग गरे । तर, लामो समयको उपचार र कुनै स्थायी सुधार नआउँदा साथ दिनेहरू पनि क्रमशः टाढा हुँदै गए । अहिले परिवार आर्थिक दृष्टिले पूर्णरूपमा विपन्न अवस्थामा पुगेको छ । दैनिकी चलाउन पनि अफ्ठ्यारो छ ।

अहिले गोविन्दराज बिकको जीवन आफन्तको सहारामा मात्र बाँचेको छ । उपचारका लागि चाहिने डायलासिस नियमित गर्न नसक्दा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । चिकित्सकहरूको भनाइमा, मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) नै अन्तिम विकल्प हो । तर, त्यसका लागि आवश्यक रकमको जोहो उनीहरू गर्न सक्ने अवस्थामा छैनन् ।

सामाजिक सुरक्षाको कुरा गर्ने सरकारले यस्ता दीर्घरोगी नागरिकका लागि पर्याप्त सहायता उपलब्ध गराउन नसकेको पीडित पक्षको गुनासो छ । गाउँकै दुर्गम क्षेत्रबाट उपचारका लागि काठमाडौं धाउनु पर्ने, तर त्यहाँ न त बसोबासको व्यवस्था छ, न त उपचार खर्च जुटाउने आधार ।

गोविन्दराज बिक जस्ता धेरै दीर्घरोगीहरू राज्यको ध्यान र समाजको सहायताबाट वञ्चित भइरहेका छन् । जीवन जोगाउन प्रयास गर्नेहरू स्वयं बेघर भइरहेका छन् ।

अहिले बिक परिवारका सदस्य तथा नजिकका आफन्तले देशविदेशमा रहेका सहयोगी मनहरू समक्ष अपील गरेका छन् । जीवनको अन्तिम आशामा रहेका गोविन्दराज बिकको उपचार र पुनःस्थापना अभियानका लागि आर्थिक तथा नैतिक सहयोग आवश्यक भएको उनीहरू बताउँछन् ।

सम्बन्धित
Loading...