कर्णालीमा रणसिंह परियारको कडा विरोध : जनविरोधी बजेटको कपी च्यातेर बहिष्कार

0 8
Oplus_0

१७ असार, सुर्खेत । कर्णाली प्रदेशसभामा बजेटमाथिको छलफल तीव्र बन्दै गइरहेका बेला प्रदेशसभा सदस्य रणसिंह परियारले सत्तापक्षमाथि कडा प्रहार गरेका छन् ।

आजको बैठकमा धारणा राख्दै परियारले प्रस्तुत बजेटलाई ‘शासक वर्गका लागि पोषण कार्यक्रम’ को संज्ञा दिँदै तीव्र आलोचना गरे । उनले भने- यो बजेट गरिब, श्रमिक, किसान, निमुखा र उत्पीडित वर्गको पक्षमा होइन, यो बजेट सत्तामा बसेका केही व्यक्तिहरू र शासक वर्गलाई सुदृढ पार्नका लागि ल्याइएको हो ।

बजेटमाथि असहमति जनाउँदै परियारले प्रत्यक्ष रूपमा त्यसको एक प्रति च्यातेर विरोध प्रदर्शन गरे । बजेटको कपी च्यातेपछि उनले भने-हामीलाई यस्तो जनविरोधी बजेट स्वीकार्य छैन, जनता माथिको अन्याय र शोषणको नीति हामी मान्दैनौँ ।

उनको यस्तो कदमसँगै विपक्षी दलका केही सांसदहरूले ताली बजाउँदै समर्थन जनाएका थिए भने सत्तापक्षबाट भने आलोचना आएको छ ।

यता, प्रदेश सरकारका प्रवक्ताले भने बजेट सबै वर्गलाई समेट्ने खालको रहेको दाबी गर्दै परियारको कदमलाई ‘नाटक’ भन्दै खारेज गरेका छन् ।

तर रणसिंह परियार अडानमा दृढ छन् । उनले भने, गरिब जनता सिमान्तकृत समुदाय र उत्पीडित वर्गको हकहित सुनिश्चित नहुने बजेट हामीले सडकदेखि सदनसम्म प्रतिरोध गर्छौँ । कर्णालीका जनताको सपना बेच्न दिँदैनौँ । साथै अगाडि थपे हामी जनतासित माफी माग्न जान तयार छौं । तर तपाईहरुको अगाडि झुक्दैनौं ।

प्रदेशसभामा यस घटनापछि वातावरण तनावग्रस्त बनेको छ । अब बजेटमाथिको बहस थप चर्किने संकेत देखिएको छ ।

सम्बन्धित
Loading...