नारायणगढ–बुटवल सडकखण्ड जोखिमपूर्ण, यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह
१७ असार, चितवन । देशकै मुख्य पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडकखण्डको अवस्था अहिले भयावह बन्दै गएको छ । भारी वर्षासँगै सडकका अधिकांश भाग जलमग्न र हिलाम्मे बनेका छन् भने कतिपय स्थानमा खाल्डाखुल्डी र कटानले जोखिम अझ बढाएको छ ।
स्थानीय र यात्रुहरूका अनुसार सडकको यस्तो जर्जर अवस्थाले यात्रुहरूको यात्रा असहज मात्र हैन, प्राणघातक समेत बन्न थालेको छ। चितवनदेखि बुटवलतर्फको यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
सडक विस्तारका नाममा वर्षौँदेखि अलपत्र छोडिएको यो खण्ड अहिले घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो र पानी जम्ने समस्याको पर्याय बनेको छ । यसले न केवल यात्रुहरूको यात्रा समय बढाएको छ । यसरी दुर्घटना जोखिम पनि दोब्बर बनाएको छ ।
स्थानीयवासीहरू सरकार र निर्माण व्यवसायीको लापरबाहीप्रति आक्रोशित छन् । “हाम्रो माग सडकको गुणस्तरीय निर्माण हो । तर यहाँ वर्षौंदेखि जनताको धैर्यको परीक्षा मात्र भइरहेको छ ।” नारायणगढ नजिकैका एक स्थानीयले बताए ।
सरकारले पटक–पटक निर्माण सम्पन्नको म्याद थप्दै आएको भए पनि परिणाम भने अझै मन्द छ । यात्रुहरूलाई यस्ता खतरनाक अवस्थामा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।
विशेष गरी नारायणगढ, दाउन्ने, बुटवल आसपासका जोखिमयुक्त स्थानमा यात्रा गर्दा बढी होसियारी अपनाउनुपर्ने बताइएको छ । स्थानीयहरूले सडक सुधार नहुँदासम्म आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् ।