नागरिक उन्मुक्तिको समर्थन फिर्ता : सत्ता समीकरण फेरबदलको संकेत
२२ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनबाट औपचारिक रूपमा पछि हटेको छ । आइतबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र बुझाइन् ।
सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका अरुण चौधरी पहिले नै पदबाट फिर्ता भइसकेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट पनि नागरिक उन्मुक्तिको सहभागिता औपचारिक रूपमा टुंगिएको छ ।
संघीय सरकारमा एक राज्यमन्त्रीसहित सहभागी नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सरकारमा पनि संलग्न थियो । तर पछिल्लो राजनीतिक बदलाबसँगै पार्टीले तीनै तहबाट समर्थन फिर्ता लिएको छ ।
यो निर्णयसँगै सत्ता समीकरण फेरबदल हुने अनुमान गरिएको छ । सुदूरपश्चिममा पहिले नै नागरिक उन्मुक्तिको समर्थन बिना सरकार अल्पमतमा पुगेको छ भने संघीय तहमा पनि यो कदमले नयाँ सत्ता समीकरणको चर्चा सुरु गराएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार नागरिक उन्मुक्तिको समर्थन फिर्ताले सत्तारुढ गठबन्धनभित्रको असहजता सतहमा आएको छ ।