भारतमा चोरी गरेर फर्केका तीनजना नेपाली कैलालीमा पक्राउ, एक फरार
३२ असार, कैलाली । इमानदार पहिचान बनाएका नेपाली श्रमिकहरूको इतिहासमै कालो दाग लगाउने गरी भारतमा चोरीका घटना दोहोरिन थालेका छन् । त्यही क्रममा भारतको बेङ्लोरबाट सुन र नगद चोरी गरी नेपाल फर्किएका तीन नेपाली कैलालीमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालीकोटको नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट, ४५ वर्षीय भैरे बिष्ट र चोरीको गरगहना बिक्री गरिएको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनार रहेका छन् । उनीहरूलाई सुन पसलवाला तर्फबाट प्राप्त सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार चोरीमा संलग्न एक व्यक्ति अझै फरार छन् । प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
सार्वजनिक सम्पत्ति लुट्ने वा व्यक्तिगत घरमा धावा बोल्ने कार्य जति टाढा गइए पनि कानूनको फन्दाबाट उम्कन नसकिने तथ्यले पुनः पुष्टि गरेको छ । यस घटनाले कानुनको हात लामो हुन्छ भन्ने भनाइलाई थप सशक्त बनाएको छ ।