जनगणतन्त्रका लागि सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने सिपी गजुरेलको आह्वान
२ श्रावण, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले देशमा जनगणतन्त्र स्थापनाका लागि सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । यसरी मंगलबार राजधानीको संवाद डबलीमा आयोजित वामपन्थीहरुको संयुक्त एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गजुरेलले क्रान्तिको बाटो छोडेर संसदीय दलदलमा रमाएका नेताहरूले जनतालाई धोका दिएका छन् भन्दै तीव्र आलोचना गरे ।
कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिस्ट पार्टीले गरेको थियो । सो अवसरमा गजुरेलले हालको संसदीय व्यवस्थाले जनताको कुनै समस्या समाधान नगरेको दाबी गरे । उनले प्रचण्ड–बाबुराम नेतृत्वको पूर्व माओवादीले जनयुद्धको उपलब्धिलाई समर्पण गरेकाले क्रान्ति अधुरो भएको टिप्पणी गरे ।
आज पनि जनताका सपना अधुरा छन्, परिवर्तनको संवाहक भनिएकाहरू कुर्सीको रोटेशनमा सीमित छन् उनले भने- जनताको मुक्ति जनगणतन्त्रमार्फत मात्रै सम्भव छ । त्यसैले सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्छ ।
गजुरेलले दलाल पुँजीवाद र विदेशी हस्तक्षेपविरुद्ध स्पष्ट मोर्चाबन्दी आवश्यक रहेको बताए । उनले चेतावनी दिंदै भने- यदि कम्युनिस्टहरूले समयमै एकताको ढोका खोल्न सकेनन् भने जनता विकल्प खोज्न बाध्य हुनेछन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि देशमा बढ्दो असमानता, भ्रष्टाचार, बेरोजगारी र विदेशी निर्भरता विरुद्ध क्रान्तिकारी धारको मजबुती आवश्यक रहेकोमा जोड दिएका थिए ।