बर्खे सिजनमै बाँकेका किसानको बिचल्ली : पानी र मल अभावले ७५ प्रतिशत खेत बाँझो

0 7
Oplus_0

४ साउन, बाँके । नेपाल कृषि प्रधान देश भनिए पनि बाँके जिल्लाका किसानहरू वर्षे बालीको मुख्य सिजनमा खेत जोत्नै नसकी भोक र निराशाको पीडामा छन् । समयमै आकाशे पानी नपरेको, सिँचाइको सुविधा नहुँदा र मल अभावका कारण जिल्लाको करिब ७५ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहन पुगेको छ ।

खजुरा गाउँपालिका–४ स्थित खजुराखुर्द, ढुढुहार र ठुलो खजुराका किसानहरू अहिले खेत होइन, आकाश हेरेर दिन बिताइरहेका छन् । यसरी स्थानीय किसान सोमराज बर्माले भने-हामी जमिनदारको खेत जोतेर परिवार पाल्थ्यौं । अहिले खेत नै जोत्न सकिएको छैन । अब त बाँच्ने आधार पनि छैन ।

उनैसँगै खेती गर्दै आएका विष्णुप्रसाद बर्मा र बहीरे लोनिया पनि खेत बाँझो रहेकोले बेचैन छन् । उनीहरूको भोगाइ उस्तै छ न मल छ, न सिँचाइ, न त खेत जोत्न सक्ने समय बाँकी छ ।

कृषकहरूका अनुसार मल वितरण प्रणाली अस्तव्यस्त छ । बजारमा मल महँगो छ, सरकारी गोदाममा छैन । समयमा पानी नपर्दा र मल नपाउँदा बिउ रोप्न मिल्ने समय गुज्रिँदै छ । मल लिन जाँदा ढोका बन्द, पानी त आकाश हेरेर पर्खनुपर्छ । यसप्रकारको खजुराका किसानले गुनासो गरे ।

बाँकेको धेरैजसो खेत आकाशे पानीमा भर पर्ने भए पनि सिँचाइका वैकल्पिक योजना निर्माणमा सरकार उदासीन देखिएको किसानहरूको गुनासो छ । वर्षे बालीको भरमा बाँच्ने कृषक वर्ग अहिले सरकारको मौनताबाट झनै पीडित छन् ।

कृषि विज्ञहरूका अनुसार यस्तो अवस्था रहिरहे खाद्य उत्पादनमा ठूलो गिरावट आउन सक्छ । बाँकेको मात्र नभई सिंगो तराई क्षेत्रको उत्पादन घट्ने हो भने आयातमा निर्भरता बढ्ने र मूल्यवृद्धि हुने खतरा बलियो देखिन्छ ।

बर्खे धान खेतीको समयमै खेत बाँझो रहनु केवल किसानको समस्या मात्र होइन, यो सिंगो अर्थतन्त्र र खाद्य सुरक्षामाथिको खतरा हो । किसानहरू राहत होइन, अधिकार मागिरहेका छन् । यसरी किसानहरु सिंचाइ र मल समयमै उपलब्ध हुनुपर्‍यो भन्ने माग राख्दै आएका छन् । तर राज्यले किसानका मागहरुको बेवास्ता गरिरहेको आभास हुन्छ ।

सम्बन्धित
Loading...