बंगुरमा घाटा, गाईमा सफलता: पूर्व सैनिक लवकुशको प्रेरणादायी मोड
६ साउन, बर्दिया । बर्दिया जिल्लाको बढैयाताल–६, मैनापोखर अन्तर्गत लोखरपुर टोलका लवकुश थारुले गाईपालनमार्फत उदाहरणीय सफलता हासिल गरेका छन् । नेपाल आर्मीबाट सेवा निवृत्त भएपछि व्यवसायमा हात हालेका थारुले सुरुवातमा श्रीमती कविता थारुको नाममा “बुंगुरपालन फर्म” दर्ता गराई बंगुरपालन व्यवसाय थालेका थिए ।
तर, उक्त व्यवसायमा घाटा बेहोरेपछि नाम परिवर्तन गर्दै “यूकेन पशुपालन कृषि फर्म” को रूपमा नयाँ स्वरूपमा फर्म पुनः संचालनमा ल्याइएको हो । अहिले उक्त फर्ममा ११ ठूला गाई र ८ वटा बाछाबाछीसहित जम्मा १९ वटा गाईवस्तु रहेका छन् ।
गाईपालनलाई २०८१ सालदेखि व्यवसायिक ढंगले अघि बढाएका थारु दम्पती अब भने सन्तुष्ट छन् । उनीहरूका अनुसार गाईपालन व्यवसायबाट हाल मासिक रु. २ लाख ४० हजारको आम्दानी भइरहेको छ ।
लवकुश भन्छन्- बंगुरपालनबाट अनुभव त पाइयो, तर घाटा भयो । अहिले गाईपालनले आत्मनिर्भर बनाएको छ । यसरी व्यवसायमा लगनशीलता र सुधारको सोच भए, सफलता सम्भव छ ।
स्थानीय तहले पशुपालन व्यवसायमा प्रवर्द्धनका लागि सहुलियत कर्जादेखि तालिमसम्मका कार्यक्रम ल्याउँदै आइरहे पनि यस्ता सफल किसानको अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गरी अरू युवालाई पनि प्रेरित गर्नु आवश्यक देखिन्छ ।