नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक सम्पन्न, विधान संशोधन सर्वसम्मत पारित

0 6
Oplus_131072

७ साउन, २०८२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक साउन ५ र ६ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले विधान संशोधन प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गर्दै विभिन्न समसामयिक विषयमा आठवटा महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले संगठनात्मक गतिविधि र सुधारका विषयमा जानकारी गराएका थिए । २६४ जना केन्द्रीय सदस्यहरूको सहभागितामा छलफल भएको उक्त प्रस्तावमा प्रस्तुत सुझावहरूलाई समेट्दै अब यसलाई प्रदेश र जिल्ला कमिटीहरूमा थप छलफलका लागि पठाइने निर्णय गरिएको छ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदनहरू प्रस्तुत गरेसँगै, विधान महाधिवेशनको तयारीबारे समेत विस्तृत जानकारी दिइएको थियो ।

बैठकले देशको राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, कृषकको समस्या, भ्रष्टाचार नियन्त्रण, जलवायु संकट, प्राकृतिक विपत्ति, राष्ट्रपतिपदको गरिमा संरक्षण लगायत समसामयिक विषयमा आठवटा प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई राजनीतिक स्थायित्वको पक्षमा प्रभावकारी भूमिका खेलेको भन्दै समर्थन जनाइएको छ भने कृषकलाई मल अभाव, दूधको भुक्तानी बक्यौता र सुख्खा प्रभावित क्षेत्रको समस्यामा तत्काल सम्बोधन गर्न सरकारलाई आह्वान गरिएको छ ।

सम्बन्धित
Loading...