७ साउन, बर्दिया । सामाजिक न्याय र समुन्नतिको लागि भूमि अधिकार भन्ने नारासहित बर्दियामा सुकुम्बासी, भूमिहीन तथा गरिब किसानहरुले सशक्त खबरदारी प्रदर्शन गरेका छन् ।
राधाकृष्ण चोकदेखि सुरु भएको जुलुसले सदरमुकाम परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । भूमिको सवालमा भन्दै आयोजित यस दबाबमूलक खबरदारी कार्यक्रममा सहभागीहरुले वर्षौँदेखि उपयोगमा ल्याइरहेको जमिनमा स्वामित्वको अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेका थिए ।
जुलुसमा सहभागीहरुले भूमि अधिकार सुनिश्चित नगरेसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन् । कार्यक्रममा भूमि अधिकारका सवालमा नीति निर्माण तहमा आवाज बुलन्द पार्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

उक्त कार्यक्रम जिल्ला भूमि अधिकार मञ्च बर्दियाको आयोजनामा सम्पन्न भएको हो । मञ्चका अनुसार भूमि सुधार तथा समावेशी विकासको लागि अझै ठोस नीति र कार्यान्वयनको खाँचो रहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत भूमिहीनताको समस्या समाधान नभएकोप्रति आक्रोश पोख्दै प्रदर्शनकारीहरुले भूमिको हक हाम्रो अधिकार भूमिविहीनता अन्त्य गर लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।