विद्या भण्डारीको आत्मघोषणा : पदको मोह छैन, जनताको सेवा गर्न छाेड्दिन

0 4
Oplus_0

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अब कुनै पनि पदप्रति लालसा, महत्वाकांक्षा वा मोह नरहेको स्पष्ट पारेकी छिन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, -म राष्ट्रकै सर्वोच्च पदमा पुगिसकेकी हुँ, अब मलाई कुनै पदप्रति आशक्ति छैन । इतिहासमै मेरो नाम छापिएको छ ।

तर, यथार्थको पर्दा च्यात्दै उनले आफ्ना भावी योजना पनि प्रकट गरिन् । राजनीतिमा पुनः सक्रिय हुने संकेत दिंदै उनले भनिन्- राजनीति गरेर राष्ट्रपतिमा पुगेको दिन सम्झनुहोस् । अब फेरि पार्टीमा फर्किएर देश र जनताको सेवा गर्ने मेरो निर्णय कुनै अनौठो कुरा होइन ।

भण्डारीले यसलाई संवैधानिक अधिकारको प्रयोगको रूपमा व्याख्या गर्दै भनिन्-यो मेरो नैसर्गिक अधिकार हो । म पार्टी जीवनको निरन्तरता मार्फत जनताको पक्षमा बोल्न चाहन्छु ।

यस घोषणाले नेपालको राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ — के पदमुक्त भइसकेपछिको सक्रिय राजनीतिक संलग्नता निष्पक्षताको सिद्धान्तसँग मेल खान्छ ? भण्डारीको भनाइले जहाँ आत्मत्यागको संकेत गर्छ, त्यहीं एक किसिमको पूर्व नियोजित राजनीतिक पुनरागमनको संकेत पनि बोकेको देखिन्छ ।

भविष्यमा उनी कुन भूमिकामा देखा पर्छिन् भन्ने कुरा समयले बताउनेछ । तर आज उनले प्रष्टसँग भनेकी छिन्, -म अब पनि जनताको सेवामा छु, चाहे त्यो राष्ट्रपतिको आसन या सडकको संघर्ष होस् !

सम्बन्धित
Loading...