सिर्जनशील जीविकोपार्जनका लागि १५ द्वन्द्वपीडित महिलालाई सहयोग रकम वितरण

0 3

९ साउन, बर्दिया । सशस्त्र द्वन्द्वका पीडामा जीवन बिताउँदै आएका महिला तथा वालिकाहरूको पुनःस्थापनाको दिशामा आज एक महत्वपूर्ण कदम उठाइएको छ । ठाकुरबाबा नगरपालिकाको अगुवाइमा, ‘द स्टोरी किचन’ र द्वन्द्वपीडित समिति बर्दियाको सहकार्यमा १५ जना द्वन्द्वपीडित महिला तथा वालिकालाई आयआर्जनका लागि प्रतिव्यक्ति २५ हजारका दरले कुल ३ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ ।

कार्यक्रमको उद्देश्य द्वन्द्वका कारण आर्थिक, सामाजिक र मानसिक रूपमा असरमा परेका महिला र वालिकाहरूको आत्मनिर्भरता र पुनःस्थापनालाई टेवा पुर्‍याउनु रहेको थियो । सहभागीहरूलाई स्थानीय आवश्यकताको आधारमा साना व्यवसाय, उद्यम वा सीपमूलक कार्यमा लगानी गर्न प्रोत्साहित गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रतिनिधिहरूले यो पहललाई केवल रकमको हस्तान्तरण नभई पीडितहरूको आत्मबल र सम्मानलाई पुनःस्थापित गर्ने यात्रा भनेका छन् । कार्यक्रममा बोल्दै एक द्वन्द्वपीडित महिलाले भनिन्- यो सहयोग हामीलाई केवल आर्थिक राहत होइन, अबको जीवन अगाडि बढाउने प्रेरणा पनि हो ।

‘द स्टोरी किचन’का प्रतिनिधिले भने-हामी पीडितहरूको कथा मात्र सुन्न चाहँदैनौँ, उनीहरूको आवाज बन्न चाहन्छौं । आत्मनिर्भरताको यात्रा उनीहरू आफैंले लेखुन् भन्ने हाम्रो चाहना हो ।

द्वन्द्वले विधवा, अनाथ, अपाङ्गता र सामाजिक बहिष्कार भोगेका दर्जनौं महिलाहरू अहिले पनि राज्य र समाजको साथको पर्खाइमा छन् । यस्तो अवस्थामा सानो देखिने आर्थिक सहयोगले पनि नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास कार्यक्रम आयोजकले व्यक्त गरे ।

कार्यक्रमले पुनःस्थापनाका प्रयासलाई व्यावहारिक बनाउन स्थानीय सरकार, नागरिक समाज र पीडित समुदायबीचको सहकार्यलाई एक आदर्श उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।

सम्बन्धित
Loading...