रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई सुम्पिइन्
११ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्य असहजताको कारण देखाउँदै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई सुम्पिएको घोषणा गरेकी छन् ।
भ्रष्टाचारसम्बन्धी विवादास्पद अडियो प्रकरणमा मुछिएपछि पार्टीभित्र रेशम चौधरी पक्षले श्रेष्ठमाथि चाप सिर्जना गर्दै आएको थियो । यसरी हालै मात्र श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन २४ घन्टे अल्टिमेटमसमेत दिइएकोसमेत स्रोतले जनाएको छ ।
श्रेष्ठले एक वक्तव्यमार्फत आफ्नो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको उल्लेख गर्दै पार्टी गतिविधिमा पूर्णरूपमा सक्रिय हुन नसक्ने स्पष्ट गरेकी छन् । उनले भनेकी छन्-पार्टीको दैनिक कार्य सञ्चालन र निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले कुनै अवरोध नआओस् भन्ने उद्देश्यले कार्यवाहक जिम्मेवारी सुम्पिएको हो ।
नयाँ कार्यवाहक अध्यक्ष बास्तोलालाई दिइएको जिम्मेवारीले पार्टीभित्रको विवाद र नेतृत्व सम्बन्धी बहसलाई कुन मोड उभ्याउने हो ? त्यो त आगामी समयले नै बताउने छ ।
