राप्रपाका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीद्वारा पार्टी परित्याग, नेतृत्वलाई ‘प्राइभेट कम्पनी’ शैलीमा चलाएको गम्भीर आरोप

0 12

१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले आज एक सार्वजनिक विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका छन् । यसरी लामो समयदेखि संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कार्कीले पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि प्रकट गर्दै राप्रपाको वर्तमान अवस्था ‘न संगठनजस्तो रहेछ, न सिद्धान्तजस्तो बाचेको’ भन्दै गम्भीर आलोचना गरेका छन् ।

प्रेस विज्ञप्तिमा कार्कीले राप्रपाको तीन दशक लामो यात्रा गुटबन्दी, भागबन्डा र चाकडी–चाप्लुसीको राजनीतिक संस्कृतिमा झर्ने क्रम नरोकेको उल्लेख गरेका छन् ।
विचारभन्दा अगाडि पदको भागबन्डा, सिद्धान्तभन्दा सेटिङ–साँठगाँठलाई प्राथमिकता दिइएको छ भन्ने विज्ञप्तिमा उल्लेख छ । हामी ‘एकता’ को नारा लगाउँथ्यौं तर व्यवहारमा असहमति र विघटनकै खेती हुन्थ्यो ।

कार्कीका अनुसार पार्टी नेतृत्वले संगठनलाई संस्थागत पद्धतिबाट होइन, निजी कम्पनीजस्तो शैलीमा सञ्चालन गर्दै आएको छ । वरिष्ठ नेताहरू दर्शक बनेका छन् । जुन कार्यकर्ताले रातदिन खटिएका छन् उनीहरू नै अपमानित हुन्छन् । कार्कीले भनेका छन्- सिपाहीको योग्यतासमेत नभएका व्यक्तिहरूलाई शीर्ष जिम्मेवारी दिने प्रवृत्तिले संगठनको आत्मा मरेको आभास दिन थालेको छ ।

सुधारका प्रयास असफल भए अब स्वाभिमानी विद्रोह
कार्कीले आफूले वर्षौंदेखि भित्रैबाट सुधारका लागि निरन्तर प्रयास गरेको तर नेतृत्वको ‘अहंकार, हैकमवाद र भागबन्डा’ का कारण त्यो सम्भव नभएको बताए । अब राप्रपाको औचित्य नै नरहेको जिकिर गरेका छन् ।

जब नेतृत्व आलोचना र सुझाव दिने पात्रलाई नै निशानामा पार्न थाल्छ, त्यसबेला परिवर्तनभित्र होइन, विद्रोहमा आशा खोज्नुपर्ने हुन्छ – विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उनले पार्टीको साधारण सदस्यता समेत परित्याग गर्दै कार्कीले अब कुनै दल वा गुटको हिस्सा नभई स्वतन्त्र जनताको आवाजका रूपमा राष्ट्र र जनताको सेवामा समर्पित हुने घोषणा गरेका छन् ।
अब म स्वतन्त्र विवेक, विचार र मूल्यका साथ राष्ट्र निर्माणमा समर्पित रहनेछु उनले भनेका छन् ।

पार्टी अध्यक्षलाई समावेशी नेतृत्वको सट्टा विभाजनकारी सोचको प्रतीकको रूपमा चित्रण गर्दै कार्कीले भनेका छन् जुन अध्यक्षबाट हामीले मार्गदर्शनको आशा राखेका थियौं, आज उनी स्वयं सुधारका आवाजलाई दबाउने पात्र बनेका छन् । साथै, उनले विगतको यात्रामा साथ दिएका सम्पूर्ण राष्ट्रवादी र इमानदार साथीहरुलाई हार्दिक धन्यवाद समेत दिएका छन् ।

 

सम्बन्धित
Loading...