मनुवादी संघी फासीवाद विरोधी संयुक्त मोर्चा निर्माणको लागि अधिवेशन आयोजक समिति गठन

0 6
Oplus_0

२५ साउन, काठमाडौं । भारतको मध्य प्रदेश भोपाल स्थिति गाँधी भवनमा आज सम्पन्न जनसंगठनहरूको एक महत्वपूर्ण बैठकले ‘मनुवादी संघी फासीवाद विरोधी जन अधिवेशन’का तयारीबारे विस्तृत छलफल गर्दै ११ सदस्यीय आयोजन समिति गठन गरेको छ । बैठकको अध्यक्षता जावेद अख्तरले र सञ्चालन विजय कुमारले गरेका थिए ।

बैठकमा वञ्चित र शोषित समुदायका विभिन्न संगठनहरूको सहभागिता रहेको थियो । उक्त बैठकका निर्णयअनुसार आगामी २०८२ असोज १० गते (२७ सेप्टेम्बर २०२५) भोपालमा उक्त जन अधिवेशन भव्य रुपमा आयोजना गरिनेछ । यसमा मध्य प्रदेशका सबै संघर्षशील जनसंगठन, दलित–उत्पीडित, आदिवासी, महिला तथा अल्पसंख्यक समुदायका प्रतिनिधिहरूलाई आमन्त्रित गरिनेछ । ताकि यसैको माध्यमबाट राज्यमा एक संगठित र लडाकू फासीवाद विरोधी मोर्चा निर्माण गर्न सकियोस् ।

आयोजन समितिलाई अधिवेशनका तयारी, जनसंपर्क अभियान सञ्चालन तथा विभिन्न समूहहरूसँग संवाद गर्ने जिम्मेवारी दिइएको छ । यसरी अधिवेशन अघि मसौदा घोषणा–पत्र, विभिन्न प्रस्ताव तथा न्यूनतम साझा कार्यक्रम तयार गरिनेछ र २७ सेप्टेम्बरमा पारित गरिनेछ ।

त्यसैगरी, फासीवादी शासनकालमा दलित, आदिवासी तथा मुस्लिम, इसाई, बौद्धलगायतका अल्पसंख्यकमाथि भएका अत्याचारहरू उजागर गर्ने एक पुस्तिका पनि प्रकाशन गरिनेछ । जसलाई जनमुद्दाका आधारमा निरन्तर चल्ने अभियानको आधार बनाइनेछ ।

बैठकमा सहभागीहरूले यस आयोजनालाई केवल ‘जन सम्मेलन’मा सीमित नगरी आगामी चुनावमा आरएसएस–भाजपालाई पराजित गर्ने र फासीवादविरुद्ध व्यापक जनसंघर्षको प्रारम्भिक चरणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, आयोजन समितिलाई सबै राजनीतिक दल, सामाजिक समूह तथा जनपक्षधर संगठनहरूसँग प्रत्यक्ष संवाद गरी कन्वेन्सनमा सहभागी गराउन आह्वान गर्ने निर्देशन दिइएको छ ।

बैठकले लोकतान्त्रिक, देशभक्त तथा जनपक्षधर सबै शक्तिहरूलाई २७ सेप्टेम्बरको अधिवेशनलाई ऐतिहासिक सफलतामा पुर्‍याउन सक्रिय योगदान दिन आह्वान गरेको छ ।

सम्बन्धित
Loading...