सांसद सोबिता गौतमद्वारा मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने कानुनी व्यवस्था गर्नुपर्ने माग
२६ श्रावण, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई न्यायमा पहुँच दिलाउन कानुनी ढाँचा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनका अनुसार, पैसा नभएका पीडितको पक्षमा मुद्दा लड्ने कानुन व्यवसायीलाई मामिला जितेपछि मात्र पारिश्रमिक दिने व्यवस्था कानुनमा समावेश गर्नुपर्छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबारको बैठकमा बोल्दै गौतमले भनिन् -धेरै नागरिक न्याय पाउने अवसरबाट वञ्चित छन् । उनीहरूलाई कानुन व्यवसायी पाउनै मुस्किल छ । यस्तो अवस्थामा वकिलले मुद्दा जितेपछि मात्र पारिश्रमिक पाउने सशर्त व्यवस्था कानुनमा राखिदिँदा सहज हुन्छ ।
गौतमको भनाइमा यो प्रावधान स्थापित गर्नुपर्छ कि जसले अवैतनिक रूपमा मुद्दा लड्न चाहन्छन्, उनीहरूले सुविधा पाउनुपर्छ । उनले वर्तमान अवस्थामा अन्यायमा परेकासँग वकिलको साथ नभएको बताइन् । धेरै वकिलले मुद्दा लड्नुअघि नै पारिश्रमिकको स्पष्ट माग गर्ने र आर्थिक रूपमा कमजोर व्यक्तिको मुद्दा नलिने प्रवृत्ति देखिएको उनको टिप्पणी छ ।
गौतमले विधेयकमा यस्तो प्रावधान राखिँदा न्यायमा पहुँच बढ्ने विश्वास व्यक्त गर्दै भनिन्- न्याय किनबेचको वस्तु होइन, सबै नागरिकको अधिकार हो । यसरी असहाय नागरिकका लागि मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने प्रावधान ऐनमा राख्नुपर्छ ।