भूमिहीन, दलित, सुकुम्बासी र अन्य अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आग्रह
३० साउन, काठमाडौं । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अन्य अव्यवस्थित बसोबासीका लागि ३५ दिने सूचना जारी गरेको छ । यसरी आयोगले आज गोरखापत्रमार्फत अन्तिम पटक सार्वजनिक सूचना प्रकाशन गर्दै तोकिएको म्यादभित्र निवेदन दिन आग्रह गरेको हो ।
सूचना अनुसार, आयोगले उपलब्ध गराउने वा व्यवस्थित गर्ने जग्गा प्राप्त गर्न इच्छुक व्यक्तिहरूले तोकिएको ढाँचामा निवेदन फाराम भरी २०८२ साउन ३० गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्नेछ ।
आयोगले यो सूचना कार्यसम्पादन समझदारीपत्रअनुसार सम्पूर्ण स्थानीय तहमार्फत गरिएको जनाउँदै म्यादभित्र निवेदन नदिएमा जग्गा वितरण प्रक्रियामा सहभागी हुन नपाउने चेतावनी पनि दिएको छ ।
यसअघि आयोगले पटक–पटक सूचना जारी गरे पनि अझै धेरै भूमिहीन र सुकुम्बासीबाट निवेदन नआएको कारण अन्तिमपटक सार्वजनिक सूचना गरिएको जनाइएको छ ।