बाँकेमा सामुदायिक वनबाट तस्करी गरिएको काठ बरामद
७ भदौ, बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका स्थित झोरा सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा तस्करी गरिएको चिरान काठ बरामद भएको छ ।
स्थानीयवासी पेसकर नामले परिचित व्यक्तिको घरमा लुकाइराखिएको अवस्थामा काठ फेला परेको हो । सो काठ झोरा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्षको सक्रियता र राझाँ सव–वन डिभिजन कार्यालयको संयुक्त पहलमा बरामद गरिएको जनाइएको छ ।
बरामद गरिएको काठ लामो समयदेखि बेलाबेलामा वन क्षेत्रबाट चोरी–तस्करी गरी ल्याइने गरिएको भन्ने स्थानीयको आरोप छ । यसअघि पनि सामुदायिक वनबाट अवैध रूपमा काठ तस्करी हुँदै आएको तर प्रभावकारी निगरानी र नियन्त्रण हुन नसकेको गुनासो उनीहरूको छ ।
उपभोक्ता समितिका पूर्वअध्यक्षका अनुसार बरामद काठ तत्कालै सम्बन्धित निकायलाई बुझाइएको छ र यस प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरिएको छ । यसरी राँझा सव–वन डिभिजन कार्यालयले भने घटनाबारे थप अनुसन्धान भइरहेको र कानूनी प्रक्रियाअनुसार दोषीलाई कारबाही अघि बढाइने कुरा स्रोतले जनाएको छ ।
यस घटनाले सामुदायिक वनको संरक्षण र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ । स्थानीयवासीहरूले अब काठ चोरी–तस्करी रोक्न थप सशक्त निगरानी र कानूनी कठोरता आवश्यक भएको बताएका छन् ।