नेपाल टेलिकम हुवावे विवादमा सांसद अमरेशको प्रश्न राष्ट्रवाद एमाले–कांग्रेसको मुखमै मात्र?
१४ भदौ, काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाल टेलिकमको कोर प्रणाली र बिलिङ प्रणाली चीनको हुवावे कम्पनीलाई दिन खोजिएको विषयलाई लिएर सरकार र ठूला दलमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले स्मरण गराए कि केही समयअघि आफूले बजेट बिनियोजनमा केही जिल्लाहरू लिजमा दिन सकिन्छ भन्ने प्रस्ताव राख्दा एमाले सांसदहरू तत्क्षणै उठेर राष्ट्रघाती अभिव्यक्ति भन्दै संसदको रेकर्ड नै मेटाउन दबाब दिएका थिए । तर अहिले नेपाल टेलिकमजस्तो संवेदनशील राष्ट्रिय सम्पत्ति एकैपटक विदेशी कम्पनीलाई दिन खोजिँदा ती सांसदहरू मौन रहेको उनले टिप्पणी गरेका छन् ।
उनले भने- कुनै पनि टेलिकम अपरेटरले आफ्नो कोर सिस्टम र बिलिङ सिस्टम एउटै भेन्डरलाई दिनु अन्तर्राष्ट्रिय मान्यताविपरीत हो । यसरी सम्पूर्ण अधिकार एकै कम्पनीलाई दिँदा अप्ठ्यारो परेको बेला देश धोका खान सक्छ ।
डा. सिंहले कांग्रेस नेतृत्वमाथि पनि आलोचना गर्दै भने- सभापति आफैं त्यस्कै लागि नेतृत्वमा हुनुहुन्छ, मिडिया महामन्त्री समेत चुप छन् । कांग्रेस–एमाले मिलेर देशको सम्पत्ति सखाप पार्ने हो?
टेलिकमजस्तो महत्वपूर्ण संस्थाको दीर्घकालीन सुरक्षा र सार्वभौमिक स्वामित्वबारे चर्को प्रश्न उठाइरहेका बेला सांसद सिंहको अभिव्यक्ति संसद र राजनीतिक वृत्तमा नयाँ बहसको विषय बन्ने देखिएको छ ।