सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाउने तयारी

0 3
Oplus_0

२७ भदौ, काठमाडौं । देशको राजनीति नयाँ मोडमा प्रवेश गर्दैछ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा २०८२ भदौ २६ गते रातिसम्म चलेको छलफलपछि यो निर्णय सम्भव भएको बताइएको छ ।

राष्ट्रपति पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की, संविधानविद्हरू र कानुनी विज्ञसँग लामो वार्ता गरेका थिए । संसद् विघटन गर्ने वा नगर्ने भन्ने प्रश्नमा सहमति नजुटे पनि, अन्तरिम सरकारको नेतृत्व कार्कीले लिने विषयमा भने सहमति भएको स्रोतले जनाएको छ ।

यसै क्रममा जेन–जि पुस्ताका युवाहरूले संसद विघटनलाई आफ्नो मूल एजेन्डा बनाएका थिए । तर संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री संसद सदस्य हुनुपर्ने जटिलता देखिएपछि राष्ट्रपति पौडेलले वैकल्पिक उपाय खोजेका थिए । यही सन्दर्भमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाम अघि सारिएको हो ।

यो प्रक्रियामा जेन–जि समूहका प्रतिनिधिको रूपमा काठमाडौं महानगरका मेयर बालेन साह र कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । नेपाली सेनाले प्रदर्शनरत युवाहरूसँग जङ्गी अड्डामा छुट्टै वार्ता गरी कार्कीलाई अगाडि सार्ने सहमति तर्जुमा गरेको थियो ।

अन्तरिम सरकारको नेतृत्वबारे कार्की स्वयंले पनि जिम्मेवारी लिन सकारात्मक प्रतिक्रिया दिएकी छिन् । यसअघि उनले राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग पटक–पटक छलफल गरिसकेकी छिन् ।

शुक्रबार बिहान ९ बजेबाट फेरि छलफल सुरु हुने तय भएको छ । संसद विघटन गर्ने–नगर्ने टुंगो लागेपछि अन्तरिम सरकारको औपचारिक घोषणा हुने सम्भावना देखिएको छ ।

राजनीतिक विश्लेषकहरुका अनुसार जेसुकै गरिए पनि देश उल्टो दिशातर्फ घुम्ने खतरा बढेको भन्ने छ । यो स्थितिले आन्तरिक र बाह्य रुपमा शक्ति केन्द्रको हस्तक्षेपबाट स्थिति अगाडि बढीको आशंका र अनुमानहरु बाहिर आइरहेका छन् ।

सम्बन्धित
Loading...