रवि लामिछानेमाथि सांसद सुमना श्रेष्ठका पाँच गम्भीर आरोप सहित पार्टी परित्याग
२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सांसद सुमना श्रेष्ठले पाँचवटा गम्भीर आरोप सार्वजनिक गरेकी छिन् । एक प्रेस–ब्रिफिङमार्फत उनले लामिछानेको राजनीतिक व्यवहार, पार्टीभित्रको शैली र जिम्मेवारीबारे प्रश्न उठाएकी हुन् ।
पार्टी परित्याग गर्दै श्रेष्ठले सभापति रवि लामिछानेलाई लगाएका पाँचवटा आरोप यसप्रकार छन् : कहिल्यै गल्ती स्वीकार नगर्ने, गल्तीमाथि गल्ती गर्दै जाने, गल्तीको बोझ पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था सिर्जना गर्ने, पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई देश भन्दा ठूलो पार्टी र पार्टीभन्दा माथि नेता राख्ने प्रवृत्ति भएकाले पार्टी परित्याग गरेकी छन् ।
श्रेष्ठले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र आलोचनालाई सम्मान गर्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने भन्दै नेतृत्वमाथि आत्मालोचनाको आग्रहसमेत गरेकी छन् । उनले रवि लामिछानेले गरेका गतिविधिबाट पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र अविश्वास बढेको दाबी गरिन् ।
यसअघि पनि लामिछानेको पार्टी सञ्चालन शैलीप्रति प्रश्न उठ्दै आएको छ । तर, सुमना श्रेष्ठजस्तो प्रतिनिधिसभा सदस्यले औपचारिक रूपमा सार्वजनिक आरोप लगाउनु भने नयाँ चरण मानिएको छ । यस घटनाले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक मतभेद चर्किएको स्पष्ट देखाएको छ ।